काठमाडौं -नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले हालैको वर्षापछि भएको धनजनको क्षतिको जिल्लागत यथार्थ विवरण तत्काल सार्वजनिक गर्न माग गरेकी छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा अर्यालले असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षाका कारण देशभर जनजीवन अस्तव्यस्त भएको, बस्ती डुबानमा परेको, सडक–पुल बगेको र नागरिकहरू सम्पर्कविहीन भएको उल्लेख गर्दै जिल्लागत यथार्थ विवरण तत्काल सार्वजनिक गर्न माग गरेकी हुन् ।
उनले स्याङ्जा र गुल्मीबीचको आवागमन सहज बनाउन कालीगण्डकी जलविद्युत आयोजनाको बाँध हुँदै हर्मीचौरतर्फको सुरुङमार्ग प्रयोग गर्ने व्यवस्था मिलाउन माग गरिन् । बेपत्ता नागरिकको खोजी तथा उद्धार कार्य युद्धस्तरमा अघि बढाउन र जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी खाद्यान्न, आवास, खानेपानी र स्वास्थ्य सेवाको व्यवस्था गर्न उनले आग्रह गरिन् ।
उनले तटीय तथा जोखिमयुक्त बस्ती व्यवस्थापनका लागि तीनै तहको समन्वयमा दीर्घकालीन सुरक्षित पुनस्र्थापनाको राष्ट्रिय गुरुयोजना निर्माण गर्नुपर्ने र विपतसँग सम्बन्धित कानुनी अड्चन फुकाउन शीघ्र कानुन बनाउनुपर्ने धारणा राखिन्


0 comment