काठमाडौं - विपक्षी दलका सांसदले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा विपक्षी सांसदहरुले सुरक्षा थ्रेटको बहानामा पक्राउ गरेको भन्दै आपत्ति जनाएका हुन् ।

बैठकमा एमाले सांसद ऐन महरले मध्यरातमा पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अपहरण तथा गुण्डागर्दी शैलीमा बिना कसुर र बिना अभियोग पक्राउ गरी सरकारले ‘राज्य आतंक’ देखाएको आरोप लगाए । उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि रातमा पक्राउ गर्न गएको स्मरण गराए।

कानुन मिच्ने जोकोहीलाई तथ्य र प्रमाणका आधारमा कारबाही गर्न सक्ने भएपनि सरकारले पूर्वाग्रह र विरोधका आधारमा नागरिकलाई तर्साउने, धम्क्याउने र हुर्मत लिने काम गरेको उनको दाबी छ।

उनले सरकारले जेन्जीको काँधमा टेकेर सत्ता चलाउने तर अहिले तिनै जेन्जीलाई बदनाम गर्न सुरक्षा थ्रेटको आरोप लगाउने काम गरेको भन्दै, थ्रेट दिने वास्तविक व्यक्तिहरू भए तिनलाई सार्वजनिक गरी कारबाही गर्न माग गरे ।  

यता नेकपा सांसद युवराज दुलालले विपत्तिको समयमा जनतालाई राहत दिनुपर्ने मुख्य जिम्मेवारीबाट सरकारको ध्यान अन्यत्र मोडिएको बताए। उनले मध्यरातमा पूर्वप्रधानन्यायाधीश जबरालाई विना पक्राउ पुर्जी र विना कारण पक्राउ गरेर सरकारले गैरकानुनी राज्यको दृष्टान्त र नयाँ ‘स्टन्ट’ देखाएको बताए।