काठमाडौं - नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मध्यरातमा पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै दुलालले बिना पक्राउ पुर्जी र बिना कारण जबरालाई पक्राउ गरेर सरकारले ‘गैरकानुनी राज्य’को दृष्टान्त प्रस्तुत गरेको आरोप लगाए।

‘मध्यराति पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सरकारले पक्राउ गर्‍यो। बिना पक्राउ पुर्जी,बिना कारण। गैरकानुनी राज्यको दृष्टान्त राज्यले देखायो,’उनले भने, ‘हामी कानुनी राज्यमा छौं कि गैरकानुनी राज्यमा ? यसको जवाफ दिन सरकारसँग माग गर्छु।’

जबरालाई ‘जेनजीबाट सुरक्षा थ्रेट’ रहेको भन्दै पक्राउ गरिएको समाचार आएको उल्लेख गर्दै उनले सुरक्षा थ्रेट दिने व्यक्तिलाई पक्राउ गर्ने कि सुरक्षा थ्रेटमा रहेका व्यक्तिलाई पक्राउ गर्ने भन्दै सरकारसँग प्रश्न गरे। ‘पूर्वप्रधानन्यायाधीशलाई जेनजीबाट सुरक्षा थ्रेट भन्ने समाचार आए। गृहफ्तार सुरक्षा थ्रेट दिनेलाई गरिन्छ कि सुरक्षा थ्रेट हुनेलाई गरिन्छ ? यसको जवाफ सरकारले दिनुपर्छ,’ उनले भने।

दुलालले राज्यको यस्तो ‘दादागिरी’अन्त्य हुनुपर्ने बताए। ‘के गरेपछि यो बौलठ्ठीपन आउँछ ? यो देश सबै नागरिकको हो,’उनले भने।

उनले विगतमा सरकार गठन भएकै दिन मध्यरातमा पूर्वप्रधानमन्त्रीको घर घेराउ गरेर पक्राउ गरिएको र अदालतले पछि रिहा गरेको घटनासमेत स्मरण गरे। अहिले पूर्वप्रधानन्यायाधीश जबरालाई पनि त्यसैगरी मध्यरातमा पक्राउ गरिएको उनको भनाइ छ।

‘१२ घण्टा नबित्दै बिनाकारण जबरालाई छोडियो। १२ घण्टा अपराध अनुसन्धानको हिरासतमा राखेपछि अन्त्य हुने सुरक्षा थ्रेट के हो ? कि सरकारी जेनजी थ्रेट त होइन ?’उनले प्रश्न गरे।

दुलालले सरकारले मध्यरातमा गरेको निर्णय र त्यसपछि दिउँसो गरिएको निर्णयबीचको अन्तरबारे पनि प्रश्न उठाए।‘के खाएर मध्यरातमा जोश आउँछ र मध्यान्नमा होस आउँछ ?यसको जवाफ सरकारले नेपाली जनतालाई दिनुपर्छ,’उनले भने,‘यो देशलाई यस्तो तरिकाले चलाउन मिल्दैन। संवैधानिक बाटोमा देश चलाउनुपर्छ।’