काठमाडौं - छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०७९ को उपाधि होङवान्जी न्यू डायमन्ड युथ स्पोर्टस् क्लबले जितेको छ। 

मंगलबार सम्पन्न फाइनलमा साविक विजेता एपीएफ क्लबलाई ३–२ सेटमा पराजित गर्दै न्यू डायमन्डले उपाधि उचालेको हो। निकै नै प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट २८–२६ ले जितेको न्यू डायमन्डले दोस्रो सेट १९–२५ले एपीएफलाई सुम्पन पुग्यो। 

यस्तै, तेस्रो सेट पुनः २५–२२ ले आफ्नो पक्षमा पारेको डायमन्ड चौथो सेट पुनः एपीएफलाई २४–२६ ले सुम्पन पुग्यो। २–२ को बराबरीको अवस्थमा अन्तिम तथा निर्णायक सेट न्यू डायमन्डले १५–९ ले आफ्नो पक्षमा पार्न सफल भएपश्चात् उपाधि जितेको हो। विजेता न्यू डायमन्डले नगद ३ लाख ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो। डायमन्डकी प्रगती नाथ प्लेयर अफ दी म्याच घोषित हुँदै नगद १० हजार र ट्रफी प्राप्त गर्न सफल भइन्।

उपबिजयी एपीएफले नगद १ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो। द्वितीय पुरस्कारको रासी चाँगुनारायण नगरपालिकाले प्रायोजन गरेको हो।
शेरबहादुर खड्का स्मृती प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगिताको तेस्रो स्थान नेपाल पुलिसले हात पार्‍यो। पुलिसले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई २५–२१, २५–२१, २५–१३ ले पराजित गर्दै तेश्रो स्थान प्राप्त गर्न सफल भएको हो। 

पुलिसले तेस्रो स्थान प्राप्त गरेबापत मार्वल टेक्नोप्लास्टले प्रायोजन गरेको नगद ७५ हजार प्राप्त गर्‍यो। पुलिसकी उषा भण्डारी प्लेयर अफ दी म्याच घोषित भइन्। उनले नगद १० हजारसहित ट्रफी प्राप्त गरिन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी न्यु डायमन्डकी प्रतिभा माली घोषित भइन्। उनले नगद ५० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरिन्। 

विधागत तर्फ उत्कृष्ट स्पाईकरमा एपिएफकी निरुता ठगुन्ना, उत्कृष्ट ब्लकरमा एपिएफकी हिरा के.सी., उत्कृष्ट सर्भरमा एपिएफकी सरस्वती चौधरी, उत्कृष्ट सेटरमा न्यु डायमन्डकी प्रगती नाथ, उत्कृष्ट लिवेरोमा न्यु डायमन्डकी सलिना श्रेष्ठ, उत्कृष्ट प्रशिक्षकमा न्यु डायमन्डका कुमार राई, उदियमान खेलाडीमा न्यु डायमन्डकी सलिना बुढामगर घोषित भए। विधागत तर्फका उत्कृष्ट प्रत्येकले नगद १५ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गरे।

विजयी टिम तथा खेलाडीहरूलाई मुख्य अतिथी प्रदेश खेलकुद विकास परिषद्, बागमतीका सदस्य सचिव सूर्यलाल भण्डारी, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द, ओलम्पियन दीपक बिष्ट लगायतले पुरस्कार वितरण गरेका थिए।