काठमाडौं - महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले रसुवा बाढीका कारण प्रभावित बालबालिकाको खोजी, उद्धार, संरक्षण, अभिभावक खोजी तथा पारिवारिक पुनर्मिलनलाई प्राथमिकतामा राखिएको बताएकी छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री बादीले विपद्को समयमा कोही पनि नागरिक एक्लो छैन भन्ने अनुभूति दिलाउन तथा पुनस्र्थापना, पुनर्वास र संरक्षणका लागि मन्त्रालय मातहतका सम्पूर्ण संयन्त्रहरू प्रभावकारी रूपमा परिचालन गरिएको बताइन् ।
उनले विपद् प्रतिकार्यलाई एकीकृत बनाउन ‘प्रोटेक्सन क्लस्टर’को बैठक बसी बाल संरक्षण, लैङ्गिक हिंसा प्रतिकार्य तथा मनोसामाजिक सहयोग सम्बन्धी संयन्त्र सक्रिय गरिएको जानकारी दिए। बाढी प्रभावित १५ स्थानीय तहमा बाल संरक्षण सम्बन्धी समन्वय संयन्त्र गठन गरिएको र बालबालिकाका लागि ४० स्थानमा बालमैत्री स्थान सञ्चालन गरिएको उनले बताए । साथै ललितपुरको गोदावरी नगरपालिका–१२, ठेचोमा उद्धार गरिएका बालबालिकाका लागि आवास, खानपान, स्वास्थ्य उपचार, मनोसामाजिक सहयोग र पारिवारिक पुनर्मिलन सेवा सहितको अस्थायी संरक्षण सेवा सञ्चालनमा ल्याइएको मन्त्री बादीले जानकारी दिए ।
उनले नुवाकोटको देवघाटस्थित ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानबाट विस्थापित ज्येष्ठ नागरिकलाई सुरक्षित वैकल्पिक स्थानमा स्थानान्तरण गरी स्वास्थ्य परीक्षण, आवश्यक सामग्री र मनोसामाजिक परामर्श उपलब्ध गराइएको बताए । ज्येष्ठ नागरिकको दीर्घकालीन पुनस्र्थापनाका लागि धादिङ, नुवाकोट र रसुवा जिल्लामा स्वास्थ्य उपचार सुविधासहितको ‘ज्येष्ठ नागरिक हेरचाह केन्द्र’ निर्माण गर्ने योजना अघि सारिएको उनले बताए ।


0 comment