काठमाडौं - कागेश्वरी मनोहरा नगरपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै घर-नक्सा पासबापत १ करोड ५ लाख ३८ हजार ८ सय ३२ रुपैयाँ २४ पैसा राजस्व संकलन गरेको छ।
नगरपालिकाको विकास निर्माण तथा सहरी योजना शाखाले सार्वजनिक गरेको विवरणअनुसार साउन र भदौमा उक्त राजस्व संकलन भएको हो। भदौ महिनामा मात्रै घर नक्सा पासबापत ५३ लाख ७४ हजार २ सय ६७ रुपैयाँ ७३ पैसा राजस्व संकलन भएको छ।
भदौ महिनामा नगरपालिकाका नौवटै वडाबाट ४८ वटा नयाँ नक्सा पास भएका छन्। यस्तै, ७६ वटा भवन निर्माणका लागि सुपर स्ट्रक्चर स्वीकृति, ५७ वटा निर्माण सम्पन्न प्रमाणपत्र जारी, ५४ वटा नामसारी, दुईवटा नवीकरण र २९ वटा नक्सा संशोधनका आवेदन स्वीकृत भएका छन्।
वडागत विवरणअनुसार भदौमा सबैभन्दा बढी नयाँ नक्सा वडा नम्बर ७ अमरसिंहचोकमा १२ वटा र वडा नम्बर ६ मूलपानीमा ११ वटा पास भएका छन्। नामसारीतर्फ वडा नम्बर ७ मा १६ वटा र वडा नम्बर ९ गोठाटारमा १५ वटा काम सम्पन्न भएका छन्।
निर्माण सम्पन्न प्रमाणपत्र जारी गर्नेमा वडा नम्बर ६ अगाडि रहेको छ। उक्त वडाबाट भदौमा १८ वटा निर्माण सम्पन्न प्रमाणपत्र जारी भएका छन् भने वडा नम्बर ८ बाट १३ वटा प्रमाणपत्र जारी भएका छन्।
साउनदेखि भदौ मसान्तसम्मको दुई महिनाको कुल विवरणअनुसार नगरपालिकाभरि ९७ वटा नयाँ नक्सा पास, १२२ वटा सुपर स्ट्रक्चर स्वीकृति, ९७ वटा निर्माण सम्पन्न प्रमाणपत्र, ११२ वटा नामसारी, तीनवटा नवीकरण र ४० वटा नक्सा संशोधनका काम सम्पन्न भएका छन्। यस अवधिमा घर नक्सासम्बन्धी विभिन्न ४७१ वटा प्रक्रियागत काम सम्पन्न भएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाले सहरी पूर्वाधार तथा भवन निर्माणसम्बन्धी कामलाई व्यवस्थित, नियमन र पारदर्शी बनाउन नियमित रूपमा नक्सा पास तथा निर्माणसम्बन्धी तथ्यांक सार्वजनिक गर्दै आएको छ।
स्थानीय तहमा भूमि व्यवस्थापनसम्बन्धी कामलाई व्यवस्थित गर्ने काममा कागेश्वरी मनोहरा नगरपालिका अग्रणी रहेको छ। नगरपालिकाले सुरु गरेका भूमि व्यवस्थापनसम्बन्धी अभ्यासलाई पछिल्लो समय अन्य स्थानीय तहले पनि अनुशरण गर्न थालेको जनाएको छ।


0 comment