काठमाडौं - डा. गोविन्द केसीले नेपाल चिकित्सक संघलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउनुपर्ने बताएका छन्।

शुक्रबार संघको निर्वाचन अन्तर्गत काठमाडौंको प्रज्ञा भवनमा मतदान गरेपछि चिकित्सा शिक्षा सुधारका अभियन्ता  डा. केसीले संघ राजनीतिक नभई पेशागत संगठन भएकाले चिकित्सकको हकहितका लागि लड्नुपर्ने बताएका हुन्।

संघमा कुनै पनि पार्टीको आदेश स्वीकार्य नहुने उनको भनाइ छ। डा. केसीले संघमा निर्वाचन हुनेले गुणस्तरीय स्वास्थ्य सेवाका लागि काम गर्नुपर्ने धारणा राखे । चिकित्सा क्षेत्रको समस्यामा लड्न नसके चिकित्सक संघ नाममात्रको हुने उनको भनाइ छ ।

उपत्यकामा संघको नयाँ कार्यसमितिका लागि शनिबारसम्म निर्वाचन हुनेछ । संघको अध्यक्षसहित १२ पदका लागि निर्वाचन हुन लागेको हो । संघको विभिन्न १९ पदमध्ये एक वरिष्ठ उपाध्यक्ष,तीन उपाध्यक्ष,एक कोषाध्यक्ष,एक सहसचिव,एक सहकोषाध्यक्षसहित ७ जना निर्विरोध निर्वाचित भइसकेका छन् ।