काठमाडौं - सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरेसँगै प्रतिनिधिसभातर्फ चितवनको क्षेत्र नं २ को सांसद पद रिक्त बनेको छ। यससँगै उक्त क्षेत्रमा उपनिर्वाचन हुने भएको छ। निर्वाचन आयोगले यस सम्बन्धमा सरकारसँग परामर्श गरेर निर्णय गर्ने बताएको छ।
आयोगले रवि लामिछानेको सम्बन्धमा औपचारिक पत्र आएपछि उपनिर्वाचनको प्रक्रिया सुरु गरिने बताएको छ।
मंसिर ४ को निर्वाचनमा चितवन क्षेत्र नं २ बाट लामिछाने विजयी भएका थिए। उनले कांग्रेसका उमेश श्रेष्ठ र एमालेका कृष्णभक्त पोखरेललाई पराजित गरेका थिए।
यता सत्ता गठबन्धनभित्र उपनिर्वाचनका विषयमा अनौपचारिक छलफल सुरु भएको छ। उपनिर्वाचनमा गठबन्धनबाटै उम्मेदवार उठाउने वा मित्रवत् प्रतिस्पर्धा गर्ने विषयमा छलफल सुरु भएको गठबन्धनका एक नेताले बताए।
निर्वाचनमा रविजीको पार्टी र एमालेले आ-आफ्नै उम्मेदवार उठाएको अवस्था थियो। तर अहिले दुवै पार्टी सत्ता साझेदार रहेको छ। यस विषयमा भोलिदेखि नै गठबन्धनका शीर्ष नेताहरूबीच छलफल हुने बताइएको छ।
रास्वपाको कार्यबाहक सभापति र संसदीय दलको नेतामा अर्याल
राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यबाहक सभापति र संसदीय दलको नेतामा डोलप्रसाद अर्याललाई चयन गरेको छ। शुक्रबार बसेको पार्टीको बैठकले कार्यबाहक सभापति र संसदीय दलको नेतामा अर्याललाई चयन गरेको हो।
कानुनी राज्यको अवधारणा पार्टीको मूल विचार भएकाले न्यायालयको फैसलालाई पार्टीले सदैव सम्मान गर्ने पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, ‘सम्मानित सर्वोच्च अदालतबाट भएको फैसला कार्यान्वयन हुँदा पार्टी सभापति पद रिक्त भएको ठहर गर्दै उक्त रिक्त सभापति पदमा केन्द्रीय समितिको बैठकबाट पार्टीको विधान बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि पार्टीका उपसभापति डोलप्रसाद अर्याललाई पार्टीको कार्यवाहक सभापति चयन गरेको छ। ’
लामिछानेको पद खारेज भएपछि प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १९ सांसद रहेका छन्। उनीहरुमध्ये मन्त्रिपरिषद्मा शिक्षा मन्त्रीमा शिशिर खनाल, श्रम मन्त्रीमा अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा डा. तोसिमा कार्की छन्।
रास्वपाले पार्टीका पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरेको छ।
पार्टी महासचिव डा. मुकुल ढकालले माघ १४ गतेदेखि तय गरिएका प्रदेश समितिहरूको विस्तारित बैठक र संगठन विस्तारका कार्यक्रम स्थगित भएको जानकारी दिए।
रास्वपाले चुनौतिपूर्ण घडीमा पार्टीका सम्पूर्ण सदस्य तथा शुभचिन्तकहरु संयमित रही विधिको र कानुनको सम्मान गर्न सबैमा अनुरोध गरेको छ।
0 comment