काठमाण्डौ – छिमेकी जिल्ला बाँकेमा दादुराको सङ्क्रमण तीव्र रुपमा फैलिरहेका बेला सुर्खेतमा पनि पाँच जनामा दादुरा सङ्क्रमण देखिएको छ । 

प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले जानकारी दिए अनुसार, सुर्खेतका तीन पालिकामा पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ । वीरेन्द्रनगरमा तीन, गुर्भाकोट र चिङ्गाड गाउँपालिकामा एक–एक जनामा दादुरा सङ्क्रमण देखिएको हो ।

दादुराका बिरामी भेटिएपछि प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतले अहिले विभिन्न ठाउँमा परीक्षण र खोप अभियानलाई तीव्रता दिएको छ । यसअघि बाँकेको नेपालगञ्जमा र डोटी पुगेका कैलालीको गौरीगंगाका एक बालकमा दादुराको सङ्क्रमण देखिएको थियो । दादुरा निकै सङ्क्रामक रोग भएकाले यो छिट्टै महामारीका रुपमा फैलिने जोखिम हुन्छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले दादुराको सङ्क्रमण अन्य ठाउँमा पनि भएको हुन सक्ने आशङ्कामा निगरानी गर्न सबै पालिकालाई निर्देशन दिएको जानकारी दिनुभयो । कोरोना महामारीका बेला कतिपय बालबालिका दादुरा विरुद्धको खोप लगाउन छुटेकाले पनि सङ्क्रमण देखिएको हुन सक्ने उहाँले बताउनु भएको छ । दादुरा रोकथामका लागि दादुरा विरुद्धको खोप नै उत्तम विकल्प भएकाले आफ्ना बालबालिकालाई खोपबाट नछुटाउन उहाँको आग्रह छ ।

नेपालगन्ज उपमहानगरपालिका–५ कसाइ टोलका सलामत हुसैन शेख र जोया बानोका सन्तान ३१ महिनाका बलागत हुसैन शेखको दादुराबाट मृत्यु भएको थियो ।