काठमाडौं - काठमाडौँ उपत्यकाको फोहरमैला व्यवस्थापनका विद्यमान समस्या, त्यसको समाधान तथा दीर्घकालीन व्यवस्थापनको उपायबारे उच्चस्तरीय अन्तरनिकाय छलफल भएको छ ।
शुक्रबार पूर्वाधार विकास मन्त्रालयमा नुवाकोट क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य एवं सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको अध्यक्षतामा छलफल भएको हो ।
छलफलमा सांसद आशिका तामाङले फोहोर र प्रभावित क्षेत्रका वासिन्दाको बारेमा आफ्नो कुरा राखेपछि अरुलाई बोल्नै नदिइ आक्रोशित हुँदै एकोहोरो बोलिरहेपछि बैठकमा केहीबेर असहज स्थिति उत्पन्न गराएको थियो । सबैले आग्रह गर्दा पनि उनी नमानेर बैठकबाटै बाहिरिएकी थिइन् । केही दिनअघि पनि उनी संसद् बैठकमा सभापतिले मर्यादाको ख्याल राख्न ध्यानाकर्षण गराउँदै बैठक छाडेर हिँडेकी थिइन् ।
यद्यपि उपत्यकाका विभिन्न पालिकाका प्रमुख, वातावरण विभागका अधिकारी, फोहर व्यवस्थापनसँग जोडिएका सम्बन्धित निकायका प्रमुख, फोहरमैला व्यवस्थापनविज्ञ तथा बञ्चरेडाँडा फोहरमैला व्यवस्थापनस्थलबाट प्रभावित स्थानीयवासीका प्रतिनिधिको सहभागिता रहेको उक्त बैठकले बञ्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइटको वर्तमान अवस्था, त्यहाँ देखिएका समस्या, प्रभावित क्षेत्रका बासिन्दाका गुनासा तथा आगामी कार्यदिशाबारे भएको छलफलले फोहर व्यवस्थापनको जिम्मेवारी स्थानीय तहकै भए पनि दीर्घकालीन समाधानका लागि सङ्घीय सरकार, स्थानीय तह र सम्बन्धित सबै निकायबीच समन्वय आवश्यक रहेको निष्कर्ष निकालेको छ ।
सूचना तथा सञ्चारमन्त्री डा. तिमिल्सिनाले बञ्चरेडाँडा प्रभावित क्षेत्रका बासिन्दाको समस्या र फोहरमैला व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए । विगतमा फोहर व्यवस्थापनमा समस्या देखिए पनि अब समाधानका लागि सरकार गम्भीरतापूर्वक अघि बढ्ने उनको भनाइ थियो ।
उनले फोहर व्यवस्थापनका लागि आवश्यक जग्गा प्राप्तिको विषय सङ्घीय सरकारले चाँडो टुङ्ग्याउने प्रतिबद्धता जनाए।
नेपाली कम्पनी अग्र्यानिक भिलेज र फिनल्यान्डको कम्पनी कम्पुनिकेसन ओयको संयुक्त उपक्रम (जोइन्ट भेन्चर) कम्पनी नेपवेस्टसँग भएको सम्झौता र त्यससँग सम्बन्धित मुद्दामामिलाका कारण अहिले काम गर्न गाह्रो भएको स्थानीय तहहरूको भनाइ थियो ।
त्यस्तै, उक्त छलफलमा सञ्चारमन्त्री डा. तिमिल्सिनाले फोहर व्यवस्थापनको समस्या समाधानका नाममा थप जटिलता सृजना गर्ने नभई स्पष्ट कार्यविभाजन र जिम्मेवारीका आधारमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले फोहर व्यवस्थापनमा विगतमा राजनीति र एकअर्कालाई दोषारोपण गर्ने प्रवृत्ति देखिएको भन्दै अब त्यसो गर्न नहुने बताइन् । उनले फोहरको समस्या समाधान गर्दा यसको जरामै पुग्नुपर्ने र स्रोतमा नै फोहर व्यवस्थापनको उपाय खोज्नुपर्ने धारणा राखिन्। उनले काठमाडौँ महानगरपालिका फोहर व्यवस्थापनमा जिम्मेवार भएर काम गरिरहेको उल्लेख गर्दै अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजना आवश्यक रहेको बताइन् । नेपवेस्टसँग सम्बन्धित विषय टुङ्गो लगाउन सके फोहर व्यवस्थापनको काम थप सहज हुने उनको भनाइ थियो ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पनि नेपवेस्टसँग भएको सम्झौता अझै कायम रहेकाले महानगरपालिकाले आफैँ फोहर व्यवस्थापन गर्न नसकेको बताए । आफ्नो कार्यक्षेत्रभन्दा बाहिर रहेको उक्त सम्झौता खारेज गर्न आग्रह गर्दै उनले आजको बैठकलाई समस्या समाधानको प्रस्थानबिन्दु बनाउन सके स्थानीय तहलाई काम गर्न सहज हुने धारणा राखे।
त्यस्तै, बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले नगरपालिकाले आफ्नै फोहर आफैँ व्यवस्थापन गर्न चाहेको भए पनि विभिन्न मुद्दामामिला र अदालतका आदेशका कारण काम अघि बढाउन नसकिएको बताए ।
टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले फोहरमैला व्यवस्थापन सबैको साझा दायित्व भएकाले त्यसका लागि आवश्यक आर्थिक तथा अन्य सहयोग गर्न नगरपालिका तयार रहेको बताए ।
धुनीबेँसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले फोहर व्यवस्थापनका विषयमा यसअघि पनि विभिन्न सम्झौता भए पनि समस्या समाधान हुन नसकेको बताए ।
कीर्तिपुर नगरपालिकाका प्रमुख कृष्णमान डङ्गोलले उक्त पालिकाले आगामी छ महिनाभित्र आफ्नै फोहर आफैँ व्यवस्थापन गर्ने योजना कार्यान्वयनमा ल्याउने बताए ।
दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले पछिल्लो तीन महिनादेखि फोहर वर्गीकरण गर्न थालिएको र त्यसबाट फोहरको मात्रा घटेको जानकारी दिए ।
बञ्चरेडाँडा जाने विभिन्न २१ वटा पालिकाको फोहरमध्ये काठमाडौँ महानगरपालिकाको हिस्सा ४८.८ प्रतिशत, ललितपुर महानगरपालिकाको १० प्रतिशत र बूढानीलकण्ठ नगरपालिकाको पाँच प्रतिशत रहेको प्रस्तुतीकरणमा उल्लेख थियो ।


0 comment