काठमाडौं - काठमाडौंको बाँसबारीमा गएरातिको वर्षाले साढे २ तले घर भासिएको छ । बिहीबार राति बुढानीलकण्ठ नगरपालिका-३ मा साढे २ तले घर भासिएपछि वरपरका अन्य घरहरु जोखिममा परेको  वडाध्यक्ष प्रेम थापाले जानकारी दिए ।

भासिएको उक्त घरमा गेस्ट हाउस सञ्चालन हुँदै आएको थियो। केही दिन अघि नै गेस्ट हाउस सञ्चालकहरूले उक्त घर छाडेका कारण मानवीय क्षति हुन नपाएको बताइएको छ ।

न्युरो हस्पिटलको ठिक अगाडि पट्टिको घर भासिएको हो । डिलमा रहेको घर अहिले हस्पिटलको पार्किङमा आइपुगेको छ । घर मुनि  खहरे खोला रहेको छ । खहरेले कटान गरेकाले भिरालो जमिनमा रहेको घरहरु जोखिममा परेको छ । थप क्षति हुन नदिन भासिएको भागमा त्रिपालले छोपिएको छ ।