काठमाडौं - काठमाडौंको शंखमुलस्थित एक होस्टलमा युवकको हत्या भएको छ। काठमाडौंको महानगरपालिका-१० शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा बस्दै आएका २२ वर्षीय बसन्त कालाथोकीको धारिलो हतियार प्रहारबाट हत्या भएको हो।
दाङको घोराही उपमहानगरपालिका-१७ घर भएका कालाथोकीलाई सोही होस्टलमा बस्ने बाराको कलैया–३ का १८ वर्षीय शेखर यादव र अन्दाजी २० वर्षीय प्रमित पटेलले कुटपिट तथा धारिलो हतियार प्रहार गरेका थिए।
टाउको र घाँटीमा चोट लागेका उनलाई उपचारका लागि मिनभवनस्थित निजामती कर्मचारी अस्पताल लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको जनाइएको छ। घटनामा संलग्न यादवलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको र फरार रहेका प्रमित पटेलको खोजी भइरहेको प्रहरीले जनाएको छ।


0 comment