काठमाडौं - तीन वर्षिया बालिकाको बलात्कारपछि ह*त्या गरिएको विरोधमा आक्रोशित स्थानीयबासीले सिमरा प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन्। प्रहरीले समयमै ध्यान नदिएकाले बालिकाको हत्या भएको भन्दै उनीहरुले इलाका प्रहरी कार्यालय सिमराका इन्चार्ज डीएसपी दिलिप क्षेत्रीलाई समेत कारबाही गर्नुपर्ने माग राखेर प्रदर्शन जारी राखेका हुन् । 

बालिका गरिमा चौधरीको खोजीमा इलाका प्रहरी कार्यालयले गम्भीर लापरबाही गरेको स्थानीयको आरोप छ । विरोध प्रदर्शनका कारण सिमरा–डुमरवाना खण्ड, पिलुवा–वडहर्वा खण्ड, सिमरा–जीतपुर तथा पथलैया–सिमरा खण्डमा पूर्ण रूपमा यातायात ठप्प छ ।

यस्तै निजी तथा सामुदायिक विद्यालयहरूले आज शोक सभा गरेर विद्यालय बन्द गरेका छन् ।विद्यालयहरूले विज्ञप्ति प्रकाशन गरेर तीन बर्षिया बालिकामाथि भएको क्रुर घटनाका दोषीलाई हदैसम्मको कारबाहीको माग गरेका छन् । यसैबीच, बारा जिल्ला प्रशासनले आन्दोलनरत पक्षको माग सम्बोधन गर्ने विषयमा आफूहरु सकारात्मक रहेको र छलफलको प्रयास भइरहेको जनाएको छ ।