काठमाडौं - गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपककुमार रिसाल शिक्षा तथा स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानका लागि अन्तर्राष्ट्रिय ‘एसिया ग्लोबल एक्सिलेन्स अवार्ड २०२६’बाट सम्मानित भएका छन्।
थाइल्यान्डको पटाया सहरमा आयोजित ‘नेपाल–थाइल्यान्ड फ्रेन्डसिप फेस्टिभल तथा एसिया ग्लोबल एक्सिलेन्स अवार्ड २०२६’ समारोहमा उनलाई ‘एक्सिलेन्स ग्लोबल एसिया नेपाल मेयर अवार्ड इन एजुकेसन एन्ड हेल्थ’ प्रदान गरिएको हो।
वर्ल्ड वाइड प्रोडक्सन मिडिया प्रा. लि. र हिमालयन कम्युनिटी प्रोजेक्टको आयोजनामा सम्पन्न समारोहमा शिक्षा तथा स्वास्थ्य क्षेत्रको विकास र सामाजिक सेवामा योगदान पुर्याएको भन्दै नगर प्रमुख रिसाललाई उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।
सम्मान प्राप्त गरेपछि नगर प्रमुख रिसालले आयोजकप्रति आभार व्यक्त गर्दै प्राप्त अवार्ड आफ्नो व्यक्तिगत उपलब्धि मात्र नभई गोकर्णेश्वर नगरपालिकाको समग्र टिम, जनप्रतिनिधि, कर्मचारी तथा नगरवासीको साझा सम्मान भएको बताए।
अन्तर्राष्ट्रियस्तरको यस सम्मानले नगरवासीको स्वास्थ्य, शिक्षा तथा समग्र विकासका लागि थप जिम्मेवार भएर काम गर्ने प्रेरणा मिलेको उनले उल्लेख गरे। आगामी दिनमा पनि नगरवासीको विश्वास र अपेक्षालाई आत्मसात् गर्दै निरन्तर जनसेवामा समर्पित रहने उनले प्रतिबद्धता व्यक्त गरे। नगर प्रमुख रिसालको नेतृत्वमा गोकर्णेश्वर नगरपालिकाले शिक्षा, स्वास्थ्य तथा स्थानीय विकासका विभिन्न क्षेत्रमा छलाङ मारेको छ।


0 comment