काठमाडौं - नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सरकारसँगको छलफलपछि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको छ। युवा तथा श्रम तथा रोजगार मन्त्रालयसँग शुक्रबार भएको छलफलपछि संघले आफ्ना माग सम्बोधनका लागि अघि बढाएका दबाबमूलक कार्यक्रम अन्त्य गर्ने प्रतिबद्धता जनाएको हो।
श्रममन्त्री, मन्त्रालयका सचिव तथा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पदाधिकारीबीच भएको छलफलमा संघले अघि सारेका १५ बुँदे मागबारे विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ।
संघले साउन २२ गतेदेखि विभिन्न माग राख्दै आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै आएको थियो। आन्दोलनकै क्रममा संघले भदौ ७ गतेदेखि गन्तव्य मुलुकमा श्रमिक पठाउने प्रक्रिया समेत रोक्ने चेतावनी दिएपछि वैदेशिक रोजगारमा जाने तयारीमा रहेका श्रमिक अन्योलमा परेका थिए।
मन्त्रालयका अनुसार संघले उठाएका अधिकांश माग वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधनसँग सम्बन्धित नीतिगत विषय हुन्। वैदेशिक रोजगार क्षेत्रलाई थप पारदर्शी, सुरक्षित र मर्यादित बनाउने उद्देश्यसहित ऐन तथा नियमावली संशोधनको प्रक्रिया यथाशीघ्र टुंग्याउन अधिकतम प्रयास गर्ने मन्त्रालयले प्रतिबद्धता जनाएको छ।
छलफलमा व्यवसायीहरूले कानुनबमोजिम थप प्रमाण तथा आवश्यक कागजातसहित आफ्ना समस्या वैदेशिक रोजगार विभागमा पेस गर्न सक्ने र विभागबाट आवश्यक प्रशासनिक सहजीकरण गरिने विषयमा समेत सहमति भएको छ। विभागबाट समाधान हुन नसकेका विषयमा मन्त्रालयमा पुनरावेदन गर्न सकिने व्यवस्थाबारे पनि छलफल भएको मन्त्रालयले जनाएको छ। वैदेशिक रोजगार व्यवसाय सञ्चालनमा देखिएका नीतिगत तथा प्रशासनिक जटिलता समाधान गर्न माग गर्दै संघले आन्दोलन घोषणा गरेको थियो।


0 comment