काठमाडौं - अवकाशको असमान उमेरहदको सांकेतिक विरोधस्वरूप राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगममा कार्यरत क्याबिन क्रुहरूले आइतबारदेखि सांकेतिक विरोध थालेका छन्।
उनीहरूले विभिन्न अन्तर्राष्ट्रिय उडानहरूमा जहाजभित्रै हातमा कालोपट्टी देखाई सांकेतिक विरोध गरेका हुन्। निगम व्यवस्थापनले अदालतको फैसलाविपरीत गई क्याबिन क्रु (एयरहोस्टेस)हरूलाई ४५ वर्षमा उमेरमा अवकाश दिन थालेको हो। श्रम अदालतले कर्मचारी विनियमावलीको दफा ६३ (ख) मा ५० वर्षसम्म क्याबिन क्रुले सेवा गर्न सक्ने प्रावधान भएको औंल्याउँदै एक वर्षअघि वरिष्ठ विमान परिचारिकाद्वय प्रजिता कार्की र सिर्जना केसीलाई काममा फर्काएको थियो। उक्त दफामा भनिएको छ, विमान परिचारक र परिचारिकाको उमेर ५० वर्ष पूरा भएपछि स्वतः अवकाश दिइनेछ।
तर, व्यवस्थापनले भने त्यसलाई अस्वीकार गरेको छ। अन्य कर्मचारीसरह समान स’विधा माग गर्दै सर्वोच्च अदालतमा दायर भएको बेग्लै रिट निवदेन खारेज भएको कारण देखाउँदै उनीहरूलाई जिम्मेवारी म’क्त गर्न लागिएको हो। श्रम अदालत र सर्वोच्चको मुद्दाको प्रकृति नै फरक भएको, सर्वोच्चको निर्णयको पूर्णपाठ नै नआई आफूहरूलाई गलत तरिकाले हटाउन खोजिएको भन्दै एयर होस्टेसहरूले सांकेतिक विरोध थालेका हुन्। आइतबार दोहा–काठमाडौं, काठमाडौं–दिल्ली र काठमाडौं–गोन्जाओका उडानहरूमा उनीहरूले सांकेतिक विरोध गरे।
करारमै भए पनि निगमका अन्य सेवा र क्याबिन क्रुको अवकाशको उमेरहद धेरै फरक रहेकाले बाध्य भएर सांकेतिक विरोध थालेको एक विमान परिचारिकाले बताइन्। ‘एउटा विमान परिचारिका सेवाका लागि योग्य बन्न करिब डेढ वर्ष विभिन्न तालिममै लाग्छ। दक्षलाई हटाएर नयाँलाई ल्याउँदा निगमलाई घाटा हो,’ उनले भनिन्, ‘पहिले जस्तो प्रवृत्ति र सोचाइ राखेर निगमलाई सधैं घाटामा लैजानु हुन्न भन्ने हाम्रो उद्देश्य हो। हामी निगम व्यवस्थापन र व्यवस्थापनमार्फत सरकारले बुझोस्। बीचैमा सेवाबाट नहटाइयोस् भनेर सांकेतिक विरोध गरेका हौं।’
अर्की विमान परिचारिकाले छिमेकी भारतमा ५८, श्रीलंकमा ६२ वर्षसम्म उमेर हद रहेको तर, आफूहरूलाई भने सधैंभरि निगमले छलछाम गर्दै आएकोमा रोष प्रकट गरिन्। ‘जुन वदनियतका साथ हामीसँगै काम गरिरहेका साथीहरूको मनोबल गिराउने, सकेसम्म हाजिरी नै नगराउने प्रयास भइरहेको छ। यस्तो विवादास्पद उमेर हद प्रयोग गरेर कामबाट बर्खास्त गरियो भने हामी एकदमै दुःखी हुन्छौं, उनले भनिन्, ‘हाम्रा जायज अडानलाई सरकारले सुन्नेछ भन्नेमा हामी ढुक्क छौं।’
सर्वोच्चले फरक मागदाबी भएको रिट गत साता खारेज गरेपनि त्यसमा श्रम अदालतले गरेको पुनबर्हालीबारे केही पनि नबोलेको दावी उनको थियो। क्याबिन क्रुहरूले २ वर्ष अघि यस्तै प्रकृतिको माग गर्दै विरोध गर्दा तत्कालीन सरकारका पर्यटनमन्त्री बद्री पाण्डेले ३ दिनभित्र मागको सुनुवाइ हुने लिखित प्रतिबद्धता गरेका थिए। ‘अहिले फेरि उही समस्या दोहोरिएको छ। हामी नयाँ सरकारले भने हाम्रा वास्तविकता र समस्या सुन्नेछ भन्नेमा आशावादी छौं, ती विमान परिचारिकाले भनिन्। यसअघि निगमभित्रै सवारीचालकहरूले उमेरहदकै भेदभावविरुद्ध दायर गरेको रिट निवेदन पनि सर्वोच्चले खारेज गरेको थियो। तर, निगम व्यवस्थापनले सवारी चालक मात्र होइन, अन्य सेवाका कर्मचारीलाई ५८ वर्ष कायम गरेको छ। पाइलटको हकमा भने ६५ वर्ष तोकेको छ।
४५ को उमेर हद पनि धेरै भयो : कार्यकारी अध्यक्ष
यसैबीच, निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठले भने क्याबिन क्रुलाई अहिले दिइएको ४५ वर्षको उमेर हद नै बढी भएको प्रतिक्रिया दिएका छन्। ‘एयर होस्टेस राख्ने भनेको ४० वर्षसम्मका युवा, युवती हो। उनीहरूको कामको प्रवृत्ति नै फरक हुन्छ। सेवा फरक हो। जुन प्रवृत्तिको सेवा हुन्छ, सोहीअनुसारको उमेर हद हुन्छ, क्याबिन क्रुका मागबारे राखिएको जिज्ञासामा अध्ययक्ष श्रेष्ठले भने।
उनले आफू ७८ वर्ष उमेर भए पनि व्यवस्थापनको नेतृत्व गर्ने सेवा भएकाले बढी उमेर हुँदा पनि उपर्युक्त लागेर सरकारले राखेको बताए। ‘क्याबिन क्रुलाई त ४५ वर्ष नी धेरै भयो। पाइलटको सेवा बेग्लै हुन्छ। अरु कर्मचारीको कामको प्रकृति फरक हुन्छ। एकै उमेर हद भनेर हुन्छ र ?, उनले भने।


0 comment