काठमाडौं - नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आज राष्ट्रिय भेला आयोजना गर्दैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा बिहान साढे ११ बजे भेलाको उद्घाटन हुनेछ। उद्घाटन समारोहलाई निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम छ।
भेलाको आज उद्घाटन सत्र मात्रै सञ्चालन हुनेछ भने भोलिदेखि अन्य कार्यक्रम सुरु हुने जनाइएको छ।
देउवा करिब ६ महिनापछि बिहीबार स्वदेश फर्किएका हुन्। सिंगापुरमा थप उपचार गराएर उनी बिहीबार अपराह्न थाइ एयरवेजमार्फत नेपाल फर्किएका हुन्। गत वर्ष भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा परी देउवा घाइते भएका थिए।
विमानस्थलबाट सोझै इतर समूहको काठमाडौंस्थित चुनदेवी सम्पर्क कार्यालयमा लगिएको थियो। त्यहाँ सम्बोधन् गर्दै देउवाले आपसी मतभेद,विभाजन र विद्वेष अन्त्य गर्दै मेलमिलापको मार्ग रोज्न आह्वान गरेका थिए। उनले
प्रतिशोधको बाटो नभई मेलमिलाप र राष्ट्रिय एकताको मार्ग रोज्न आग्रह गरेका थिए।
विशेष महाधिवेशनमार्फत गगन थापा नेतृत्वमा आएपछि कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद चर्किएको छ। यसैबीच देउवा पक्षका नेताहरूले राष्ट्रिय भेला आयोजना गरेपछि पार्टीभित्रको शक्ति संघर्ष थप पेचिलो बनेको छ।


0 comment