काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले झन्डै दुईतिहाइ बहुमतको सरकारका प्रधानमन्त्री एक्लै हुन नसक्ने बताएका छन् ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले शुक्रबार राति सामाजिक सञ्जाल फेसबुकमा राखेको पोस्टप्रति टिप्पणी गर्दै सांसद ढकालले प्रधानमन्त्री एक्लै नरहेको बताएका हुन् । प्रधानमन्त्री शाहले फेसबुकमा ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ । यो पहिलोचोटी होइन’ भन्ने आशयको धारणा सार्वजनिक गरेका थिए ।
प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रति लक्षित गर्दै सांसद ढकालले झन्डै दुईतिहाइ बहुमत प्राप्त सरकारका प्रधानमन्त्री एक्लो हुन नसक्ने बताए । उनले सरकार र सदन दुवैले नागरिकको भरोसा जित्ने गरी काम गर्नुपर्नेमा जोड दिए ।
शुक्रबारकै बैठकमा रास्वपाका केही सांसदले जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका विषयमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै ध्यानाकर्षण गराएका थिए । त्यसै राति प्रधानमन्त्री शाहको अभिव्यक्ति सार्वजनिक हुनुलाई सांसद ढकालको टिप्पणीले सरकारभित्रै पनि असन्तुष्टि वा दबाबको अवस्था रहेको संकेतका रूपमा लिएको देखिन्छ ।
सांसद ढकालले अहिलेको आवश्यकता एकअर्कालाई दोषारोपण गर्ने नभई नागरिकमा आशा र विश्वास जगाउने खालका बहस र पैरवी गर्नु रहेको बताए । वर्तमान कार्यकालमा सरकार र सदन दुवैले जनताको भरोसा जित्ने गरी काम गर्नुपर्ने उनको भनाइ छ ।
विगतमा आफूहरूले उठाएका प्रश्न र अहिले जिम्मेवारीमा पुगेपछि सामना गर्नुपरेका व्यावहारिक कठिनाइलाई स्वीकार गर्दै ढकालले सकारात्मक परिवर्तनका लागि सबैको सामूहिक प्रयास र विश्वास आवश्यक रहेको बताए ।
उनले नागरिकले दैनिक उपभोग्य वस्तुका लागि भोग्नुपरिरहेको सास्तीप्रति आफू संवेदनशील रहेको उल्लेख गर्दै जनजीविकासँग प्रत्यक्ष जोडिएका विषयलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिए ।


0 comment