काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा दिइँदै आएको जन्मसिद्ध नागरिकताको प्रावधानलाई कडाइ गर्ने उद्देश्यले पुनः दुईवटा नयाँ कार्यकारी आदेश जारी गरेका छन्। सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकता खारेज गर्ने उनको अघिल्लो प्रयासलाई अस्वीकार गरेको केही हप्तापछि नै ट्रम्प प्रशासनले यो नयाँ कानूनी रणनीति अपनाएको हो।
ह्वाइट हाउसस्थित राष्ट्रपति कार्यालयबाट जारी गरिएका दुई आदेशमध्ये पहिलो आदेशले गैर-अमेरिकी नागरिकका सन्तान (जसले स्वतः नागरिकता पाउँदैनन्) को दायरा र परिभाषालाई फराकिलो बनाएको छ। दोस्रो आदेशले बच्चा जन्माएर नागरिकता दिलाउने नियतले मात्र अमेरिका आउने अभ्यास अर्थात् ‘मातृत्व पर्यटन’माथि पूर्ण प्रतिबन्ध लगाएको छ।
'यो काम वर्षौंअघि नै हुनुपर्थ्यो, तर हामी अहिले यसलाई सम्हाल्दैछौँ,' सर्वोच्च अदालतको १५० वर्ष पुरानो नीति खारेज नगर्ने फैसलाप्रति असन्तुष्टि जनाउँदै राष्ट्रपति ट्रम्पले भने।
नयाँ कार्यकारी आदेश अनुसार बाबुआमा दुवै गैर-नागरिक रहेको खण्डमा ,आमा वा बुबामध्ये कोही विदेशी आतंकवादी समूहको सदस्य भएमा, विदेशी सरकारको कर्मचारी भएमा, धोकाधडी वा छलछामपूर्ण तरिकाले नागरिकता लिन खोजेको पाइएमा, वासङ्घीय कानूनले नागरिकताको अधिकार नदिएका अमेरिकी क्षेत्रमा बसोबास गरिरहेका भएमा अमेरिकामा जन्मिएका नवजात शिशुले स्वतः अमेरिकी नागरिकता पाउने छैनन् ।
ट्रम्प प्रशासनले विशेष गरी रुस र चीन जस्ता देशका नागरिकहरूले 'मातृत्व पर्यटन'को दुरुपयोग गरी अमेरिकाभित्र अवाञ्छित पहुँच बढाएको आरोप लगाएको छ। ट्रम्पले यस अभ्यासबाट सयौँ-हजारौँ बालबालिका जन्माइएको दाबी गरे।
यद्यपि, गैर-पक्षधर अनुसन्धान संस्था 'माइग्रेसन पोलिसी इन्स्टिच्युट' को तथ्याङ्क अनुसार अमेरिकामा मातृत्व पर्यटनमार्फत वार्षिक करिब २२ हजार देखि २६ हजार बच्चा जन्मिने गर्छन्। सन् २०२४ को सरकारी तथ्याङ्क अनुसार भने विदेशी ठेगाना भएका आमाहरूबाट करिब ९ हजार ६ सय बच्चा जन्मिएका थिए।
राष्ट्रपति ट्रम्पका आन्तरिक सुरक्षा सल्लाहकार स्टिफन मिलरका अनुसार मानिसहरू पर्यटक वा आगन्तुकका रूपमा आएर बच्चा जन्माउने र ती बालबालिका पछि अमेरिकी सामाजिक सुरक्षा, मतदानको अधिकार र अन्य आरक्षित सेवा-सुविधा उपभोग गर्न योग्य हुने भएकाले यसलाई रोक्नु आवश्यक परेको हो।
राष्ट्रपति ट्रम्पले आफ्नो दोस्रो कार्यकालको सुरुआतमै अमेरिकी संविधानको १४औँ संशोधनले प्रत्याभूत गरेको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेश जारी गरेका थिए। तर, अदालतको लामो निरूपणपछि सर्वोच्च अदालतले गत असारमा ट्रम्पको सो नीति बदर गर्दै जन्मसिद्ध नागरिकता नै कानूनका रूपमा रहने फैसला सुनाएको थियो।
सर्वोच्चको उक्त फैसलालाई 'अन्यायपूर्ण'भन्दै ट्रम्पले अहिले फरक बाटोबाट यो नीति लागू गर्न खोजेका हुन् ।
क्यालिफोर्निया विश्वविद्यालयका कानूनका प्राध्यापक ग्याब्रिएल चिनका अनुसार बच्चा जन्माउने नियतले आउने मानिसलाई प्रवेशमा रोक्ने अधिकार राष्ट्रपतिसँग भए पनि, 'एक पटक अमेरिकाको भूभागमा बच्चा जन्मिसकेपछि उसलाई नागरिकताबाट वञ्चित गर्ने अधिकार राष्ट्रपतिसँग छैन।' यसले गर्दा ट्रम्पको यो नयाँ आदेश पनि पुनः अदालतमा कानूनी चुनौतीको घेरामा पर्न सक्ने देखिएको छ।


0 comment