काठमाडौं - नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वडा अधिवेशन सुरु हुनुअघि पार्टीभित्र देखिएको मतभेद समाधान गर्ने अन्तिम प्रयासस्वरूप  देउवा पक्षका नेताहरूसँगको छलफललाई तीव्रता दिएका छन्। यसै क्रममा सभापति थापाले नेता शेखर कोइरालासँग भेटवार्ता गरी पार्टीभित्र देखिएको आन्तरिक समस्या समाधानका उपायबारे छलफल गरेका छन्।

भेटमा नेता कोइरालाले मुलुक, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा पुगेको भन्दै यस्तो अवस्थामा पार्टी एकढिक्का भएर अघि बढ्नुको विकल्प नरहेको बताएका थिए। पार्टी एकताका लागि आफ्नो तर्फबाट आवश्यक त्याग गर्न आफू तयार रहेको उनले स्पष्ट पारे। जवाफमा सभापति थापाले आफू पनि पार्टी एकताको पक्षमा रहेको बताएका थिए।

थापा र कोइरालाबीच भदौ १० गतेको भोटेकोशी बाढी तथा त्यसपछि रसुवा, नुवाकोट र धादिङमा देखिएको पछिल्लो अवस्थाका विषयमा समेत छलफल भएको थियो।

वडा अधिवेशन सुरु हुनुअघि पार्टीभित्रका मतभेद मिलाउने उद्देश्यले सभापति थापाले पछिल्ला दिनमा विभिन्न नेताहरूसँग संवाद अघि बढाएका हुन्। उनले शनिबार पूर्वउपसभापति पूर्णबहादुर खड्कासँग पनि छलफल गरेका थिए। खड्का र कोइरालासँगको संवादलाई निरन्तरता दिन वडा तहको अधिवेशनको मिति करिब एक साता सार्ने तयारी गरिएको कांग्रेस स्रोतले जनाएको छ।

आगामी असोज १६ देखि १९ गतेसम्मका लागि तय गरिएको महाधिवेशनको मिति भने यथावत् राख्ने गरी तल्लो तहका अधिवेशनको कार्यतालिका हेरफेर गर्ने तयारी भइरहेको छ। पार्टीभित्र देखिएको मतभेद समाधान गर्दै महाधिवेशनलाई सहमतिका आधारमा अघि बढाउने प्रयासस्वरूप नेतृत्वले पछिल्ला दिनमा विभिन्न पक्षसँग छलफललाई प्राथमिकता दिएको हो।