काठमाडौं - महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले लैङ्गिक हिंसालाई रोकथाम गर्न राष्ट्रिय नियामक प्रक्रियालाई सुदृढ गर्ने बताएकी छन् ।

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समिति बैठकमा मन्त्री वादीले साइबर सुरक्षा अब सूचनाको प्रविधिको विषय मात्रै नभइ नागरिकको गोपनीयताका साथै राज्यप्रतिको नागरिकको विश्वाससँग प्रत्यक्ष जोडिएको विषय नभएको भन्दै जुनसुकै माध्यमबाट हुने लैङ्गिक हिंसालाई रोकथाम गर्न राष्ट्रिय नियामक प्रक्रियालाई सुदृढ गर्ने बताइन् ।

विद्यमान कानुन, राष्ट्रिय साइबर सुरक्षा नीति, सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका तथा अन्य नीतिगत व्यवस्थाले साइबर अपराधलाई नियन्त्रण गर्न मद्दत पुग्ने उनले बताइन् ।

उनले मन्त्रालयले आफ्नो कार्यक्षेत्रभित्र रही प्रविधिको प्रयोगबाट हुने लैङ्गिक हिंसा उच्च प्राथमिकतामा राख्दै महत्वपूर्ण नीति तथा संस्थागत पहलहरू अगाडि बढाइरहेको उल्लेख गरिन् ।

लैङ्गिक हिंसा अन्त्य गर्ने व्यवस्थाहरूलाई एकीकृत कानुन तर्जुमा गर्न अवधारणा पत्र तयार गरी तर्जुमा सम्मतिका लागि कानुन मन्त्रालयमा पठाइएको उनले जानकारी दिइन् । डिजिटल हिंसा विरुद्ध राष्ट्रिय जनचेतना तथा डिजिटल साक्षरता अभियानलाई संघ, प्रदेश र स्थानीय तहसम्म विस्तार गरिने उनको भनाइ छ ।

बैठकमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले एआइको  गैरजिम्मेवार प्रयोग र समाजमा व्याप्त ‘हेट स्पिच’ले गर्दा कडा कानुनी कदम चाल्नुपर्ने अवस्था आएको बताए ।