काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालीहरूबीचको एकता, मेलमिलाप र सामाजिक सद्भाव कायम राख्न सबैलाई आग्रह गरेका छन्।
बिहीबार संवाद सचिवालयमार्फत जारी गरिएको ‘सद्भाव सन्देश’मा उनले सुनसरी जिल्लाका केही गाउँबस्तीमा हालै उत्पन्न आपसी द्वन्द्व र विवादका कारण जनधनको क्षति भएको तथा त्यसको असर कोसी प्रदेशका अन्य क्षेत्रमा समेत फैलिँदा जनजीवन प्रभावित बनेको खबरले आफूलाई दुःखी बनाएको उल्लेख गरेका छन्।
मुलुकका विभिन्न भागमा देखिएको सामाजिक तथा धार्मिक सद्भाव बिथोलिने प्रयासप्रति चिन्ता व्यक्त गर्दै पूर्वराजा शाहले नेपालको निर्माणकालदेखि नै विभिन्न जातजाति, भाषा र धर्मावलम्बीहरू आपसी सहिष्णुता र सद्भावका साथ बसोबास गर्दै आएको स्मरण गराएका छन् छन्। नेपाली समाजको बहुजातीय, बहुभाषिक तथा बहुधार्मिक विशेषतासँगै एकअर्काको धर्म, संस्कृति र परम्पराप्रति सम्मान गर्ने संस्कार नै नेपालको गौरव रहेको उनको भनाइ छ।
उनले नेपालको यही विशिष्ट गौरव र सामाजिक सद्भावमा कुनै पनि प्रकारको खलल पुग्न नहुनेमा जोड दिएका छन्। समाजका सबै समुदायबीच सामञ्जस्य रहेको देशका रूपमा परिचित नेपालमा यस्ता अवाञ्छित घटना हुनु चिन्ताको विषय भएको उल्लेख गर्दै उनले यस्ता गतिविधि नेपालको मौलिक मूल्य र मान्यताविपरीत रहेको बताएका छन्।
पूर्वराजा शाहले सामाजिक सद्भावलाई सुदृढ बनाउँदै राष्ट्रिय एकतालाई अझ मजबुत बनाउन सबै नेपाली एकजुट हुनुपर्नेमा समेत जोड दिएका छन्।


0 comment