काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाहले देशका प्रमुख चार उद्योगपतिसँग छलफल भएका छन् । सरकारको शैली र व्यवहारका कारण लगानी गर्न डराइरहेका उद्योगीलाई प्रधानमन्त्रीले समस्या पहिचान गर्न बोलाएर छलफल गरेका हुन्  ।रास्वपाका  प्रतिनिधिसभा सदस्य तथा उद्योगी विदुषी राणाको समन्वयमा ठूला उद्योगीसँग छलफल भएको हो ।

नेपालका  अर्बपति विनोद चौधरी, आइएमई समूहका अध्यक्ष चन्द्र ढकाल, गोल्यान समूहका प्रमुख संरक्षक पवन गोल्यान र एलए ग्रूपका अध्यक्ष उमेशलाल श्रेष्ठ छलफलमा सहभागी थिए। भाटभटेनी समूहका अध्यक्ष मीनबहादुर गुरुङलाई पनि बोलाइएको भएपनि उनी भने सहभागी भएनन्।

भोटेकोसी बाढीले ठुलो जनधनको क्षति पुर्याएको अवस्थामा देशलाई अहिले स्वदेशी/ विदेशी दुबै तर्फबाट लगानीको आवश्यकता परेको छ । प्रतिनिधिसभा सदस्य तथा उद्योगी विदुषी राणाको समन्वयमा पाँच ठूला उद्योगीलाई छलफलका लागि बोलाइएको थियो।

बैठकमा प्रधानमन्त्रीले उद्योगीहरूलाई एक–एक गरी संकोच नमानी आफ्ना कुरा राख्न आग्रह गरेका थिए । प्रधानमन्त्रीले केही समय मात्रै आफ्ना कुरा राखे। बाँकी समय उद्योगीहरूका कुरा सुन्ने र उनीहरूलाई प्रश्न गरे। नेपालमा लगानीको ठाउँ भए पनि सानातिना समस्याले गर्दा अप्ठयारो परिरहेको उद्योगपति विनोद चौधरीको गुनासो थियो ।

एलए ग्रूपका अध्यक्ष उमेशलाल श्रेष्ठले सबभन्दा ठूलो समस्या विधिको शासनको भएको बताए। वर्षैपिच्छे सरकार र नीति फेरिँदा समस्या भयो उनको भनाइ थियो ।

सरकारभित्रै समन्वयको अभाव हुँदा पनि समस्या भएको उद्योगीहरुको भनाइ थियो । निजी क्षेत्रलाई विमानस्थल निर्माणको जिम्मा दिनुपर्ने विषय उठेपछि प्रधानमन्त्रीले निजगढ विमानस्थल बनाउन सकिन्छ? भनी प्रतिप्रश्न गरेका थिए ।संसारभर निजी क्षेत्रले विमानस्थल बनाइरहेको उदाहरण दिँदै उनीहरूले निजगढजस्तो विमानस्थल पनि निजी क्षेत्रले बनाउन सक्ने बताए।

सबैको कुरा सुनिसकेपछि प्रधानमन्त्रीले स्वदेश तथा विदेशबाट लगानी ल्याउन आवश्यक परे कानुन संशोधन गर्न तयार रहेको बताएका थिए। अब हरेक महिना उद्योगीसँग छलफल गर्न प्रधानमन्त्री सकारात्मक देखिएका छन् । सरकार गठन हुने बित्तिकै उद्योगीहरुलाई धमाधम धरपडक गर्न थालेपछि उनीहरु लगानी सुरक्षित नहुने पो हो कि भनेर लगानी गर्न डराएका छन् । प्रधानमन्त्रीसँगको छलफल सकारात्मक भएको जनाउँदै आत्मविश्वास बढेको उनीहरुले बताएका छन् ।