काठमाडौं - नेपाली कांग्रेसका सभापति गगन थापाले प्रदेश सरकारहरूमा प्रतिपक्ष नै नरहने गरी तीन दलीय सरकार गठन गर्ने कुनै पनि प्रस्ताव स्वीकार्य नहुने बताए ।
सभापति थापाले लोकतन्त्रको आधार सशक्त प्रतिपक्ष भएको उल्लेख गर्दै प्रतिपक्षविहीन व्यवस्था लोकतान्त्रिक मूल्य–मान्यताविपरीत हुने बताए । उनले सरकार र प्रतिपक्ष दुवै लोकतान्त्रिक शासन व्यवस्थाका अभिन्न अंग भएको उल्लेख गर्दै सबै दल सरकारमा सहभागी हुने अभ्यासले जनप्रतिनिधिमूलक प्रणालीलाई कमजोर बनाउने धारणा राखे ।
सभापति थापाले प्रदेश सरकार गठन वा पुनर्गठनका नाममा प्रतिपक्षलाई समाप्त पार्ने कुनै पनि राजनीतिक अभ्यासले लोकतान्त्रिक प्रणालीलाई क्षति पु¥याउने चेतावनी समेत दिए । उनले जनमतको सम्मान गर्दै संविधानको भावना र संसदीय परम्पराअनुसार सरकार गठन हुनुपर्नेमा जोड दिए । सभापति थापाले नेपाली कांग्रेस लोकतन्त्र, संवैधानिक व्यवस्था र संसदीय अभ्यासलाई कमजोर बनाउने कुनै पनि प्रस्तावको पक्षमा नरहने स्पष्ट पारे ।
कांग्रेस ललितपुर जिल्ला कार्यसमितिले आज नखिपोटमा आयोजना गरेको सन्तनेता कृष्णप्रसाद भट्टराईको सालिक अनावरण कार्यक्रममा उनले स्वतन्त्रताका लागि नेता भट्टराईले गरेको योगदानको सम्मानस्वरूप उनलाई नेपाली जनताले ‘सन्तनेता’को उपाधि दिएका बताए ।
सभापति थापाले पार्टीको अधिवेशनमा ३० वर्षभन्दा कम उमेरका युवाको प्रतिनिधित्व सुनिश्चित गर्ने नीतिगत व्यवस्था गरिएको जानकारी दिए । उनले कांग्रेसभित्र एकता, अनुशासन र जनविश्वासलाई थप मजबुत बनाउन आवश्यक रहेको बताउँदै आगामी दिनमा पार्टीलाई नयाँ पुस्ताको अपेक्षा अनुसार रूपान्तरण गर्नुपर्ने धारणा व्यक्त गरे । सभापति थापाले लोकतान्त्रिक आन्दोलनका अग्रणी नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई (किशुनजी)ले स्थापित गरेको लोकतान्त्रिक मूल्य, आदर्श र नैतिक राजनीतिक संस्कृतिलाई व्यवहारमा उतार्नुपर्ने बताए । कार्यक्रममा कांग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको थियो।


0 comment