काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले वर्तमान सरकारले गरेका कामबारेमा जनतालाई जानकारी गराउने भएको छ ।
रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले सरकारले गरेका धेरै राम्रा र जनपक्षीय कामहरूको जानकारी जनतालाई हुन नसकेको भन्दै पार्टीका सांसदहरु आफ्नो क्षेत्रमा गएर सरकारले गरेका कामबारेमा जनतालाई जानकारी गराउने तयारी भएको जानकारी दिए ।
बुधबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै पराजुलीले निर्वाचन क्षेत्रमा जानुअघि संसदीय दलमा सभापति, प्रधानमन्त्री तथा संसदीय दलका नेतासहित बसेर थप छलफल गरिने बताए। सरकारले काम नै नगरेको हो कि भन्ने भ्रम वा भाष्य निर्माण गर्न केही तत्वहरू तत्पर देखिएको भन्दै उनले पार्टीले त्यसलाई चिर्दै अघि बढ्ने उल्लेख गरे ।
सुशासन र जनपक्षीय काममा सरकारले धेरै ठुलो प्रगति गरेकाले त्यसलाई जनतामाझ पुर्याउन आवश्यक रहेको उनको भनाइ छ ।
त्यस्तै पराजुलीले आगामी दिनमा संसदलाई प्रभावकारी रूपमा अगाडि बढाउने र सांसदहरूलाई सशक्तीकरण गर्ने भन्ने विषयमा प्रधानमन्त्रीसँग छलफल भएको जानकारी दिए ।
उनले आगामी दिनमा सबै पक्षसँग सहकार्य र संवाद गर्दै सबैको सहभागितामा जनपक्षीय कानुनहरू बनाउन सरकार र पार्टी दृढ रूपमा लागिपर्ने पनि बताए ।


0 comment