काठमाडौं - नेकपा (एमाले) का मुख्य सचेतक ऐनबहादुर महरले पुराना संरचना भत्काउने विषयमा सरकार गम्भीर र जिम्मेवार बन्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा बोल्दै प्रमुख सचेतक महरले पुराना तथा अप्रभावकारी कार्यशैली सुधार्ने वा आवश्यक परे परिवर्तन गर्ने विषयमा आफ्नो पार्टीको समर्थन रहने स्पष्ट पार्दै विकास निर्माणका संरचनामाथि भने प्रतिशोधपूर्ण ढंगले हस्तक्षेप नगर्न सरकारलाई चेतावनी दिए।

सरकारले ‘पुराना चिज भत्काउने’ नाममा राजनीतिक प्रतिशोध साँध्न खोजेको हो कि भन्ने आशंका व्यक्त गर्दै उनले धरहरा र सुरुङ मार्गजस्ता राष्ट्रिय गौरवका आयोजना पनि भत्काउने तयारी हो भन्ने प्रश्न गरे। “के अब सरकारले धरहरा र सुरुङ मार्ग पनि भत्काउन लागेको हो? यदि त्यसो हो भने भत्काइदिनुस्, तपाईंको नयाँ सरकार बन्छ,” उनले व्यंग्य गर्दै भने।

महरले सरकारले अघि सारेको ‘निलो क्रान्ति’ को नाराप्रति पनि टिप्पणी गर्दै सार्वजनिक सवारीसाधन र सदनको रङ परिवर्तन गर्नु मात्र क्रान्ति नभएको बताए। उनले ‘निलो क्रान्ति’ को वास्तविक अर्थ जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउनु हुनुपर्ने उल्लेख गर्दै सरकारसँग त्यसबारे स्पष्ट धारणा सार्वजनिक गर्न आग्रह गरे।

विकास निर्माणका संरचनाप्रति शंकास्पद दृष्टिकोण अपनाउँदा राष्ट्रिय गौरवका आयोजनामाथि नकारात्मक असर पर्न सक्ने चेतावनी दिँदै महरले सरकारले विकासका उपलब्धिको संरक्षण र निरन्तरतामा विशेष ध्यान दिनुपर्नेमा जोड दिए।