काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले मिटरब्याज पीडितहरूको समस्याप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन्। प्रतिनिधिसभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै सांसद अधिकारीले मिटरब्याज पीडितहरूले भोग्नुपरेको दर्दनाक अवस्था र न्यायका लागि संघर्ष गरिरहेको परिस्थितिको चित्रण गरिन्
सांसद अधिकारीले सरकार र मिटरब्याज पीडितबीच पटक-पटक सहमति भए पनि त्यसले कुनै ठोस नतिजा दिन नसकेको गुनासो गरिन्। "सरकारसँग पीडितहरूको पटक-पटक सहमति भयो, कानुन पनि बन्यो, तर ती सहमतिहरू कागजमै सीमित रहे। पीडितको अवस्था जस्ताको त्यस्तै छ," उनले भनिन् ।
उनले भनिन्, "विपन्न नागरिक न्यायका लागि कति पटक सडकमा आउने? कति किलोमिटर पैदल हिड्ने? कति रात सडकमा भोकभोकै धर्ना दिने? पीडितहरूले कहिलेसम्म न्यायका लागि संघर्ष गरिरहने?"
सांसद अधिकारीले पीडितलाई उठिबास गराउने खालका सबै मुद्दाहरू तत्काल गर्न र हडपिएको जग्गा फिर्ता गराउने गरी ठोस र स्थायी कानुनी संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराइन् ।
उनले भनिन्, ‘ निमुखा नागरिकहरूको आँसु पुछ्ने काम राज्यको हुनुपर्छ, र यसलाई राज्यले सामान्य लेनदेनको विषयका रूपमा मात्र हेर्नुहुँदैन।’
सांसद अधिकारीले वर्तमान सरकारको केही कदमको स्वागत गर्दै पीडितहरूलाई तत्काल राहत र न्याय दिलाउन सरकार थप सक्रिय हुनुपर्नेमा जोड दिइन्।


0 comment