काठमाडौं - काठमाडौंका तीन सञ्चारमाध्यम र अनामनगरस्थित भाटभटेनी नजिक शंकास्पद रूपमा पार्किङ गरिएका निजी नम्बर प्लेटका सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार कान्तिपुर, अनलाइनखबर, हिमालय टेलिभिजन र अनामनगर भाटभटेनी नजिक कार्यालयमा आवतजावत अवरुद्ध हुने गरी गाडी राखिएको सूचना प्राप्त भएपछि प्रहरी परिचालन गरिएको हो।

प्रहरीले तीनकुनेस्थित कान्तिपुरको कार्यालयअगाडि पार्किङ गरिएको गाडी क्रेनमार्फत हटाएको छ। अन्य स्थानमा राखिएका गाडी पनि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

यसबारेमा जानकारी पाउने बित्तिकै नेपाल पत्रकार महासंघको टोली सम्बन्धित सञ्चार गृहको अवलोकनका लागि पुगेको थियो । महासंघका अनुसार  कान्तिपुरको कार्यालयअगाडि बा प्रदेश ०१–०३४ च ८४८०, नयाँ बानेश्वरस्थित अनलाइनखबरको कार्यालयअगाडि बा १२ च ८५४५ र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको कार्यालयअगाडि बा १० च १२५५ नम्बरका निजी गाडी पार्किङ गरिएको थियो।

प्रहरीका अनुसार ती गाडी कसले र किन त्यहाँ राखेको हो भन्ने खुलेको छैन। सवारीधनीको पहिचान गर्ने र घटनाको उद्देश्यबारे अनुसन्धान भइरहेको छ। हालसम्म ती गाडीको स्वामित्वबारे प्रहरीले कुनै आधिकारिक विवरण सार्वजनिक गरेको छैन। कार्यालयको प्रवेशद्वार नजिक गाडी राखिएपछि कर्मचारीको आवतजावत प्रभावित भएको थियो।

घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ। महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा सञ्चारमाध्यमलाई आतंकित पार्ने उद्देश्यले कार्यालयअगाडि शंकास्पद रूपमा गाडी राखिएको भन्दै घटनामा संलग्न व्यक्तिको पहिचान गरी कानुनी कारबाही गर्न माग गरिएको छ।