काठमाडौं - काठमाडौंको कीर्तिपुरस्थित होल्डिङ सेन्टर पुगेका जेनजी अभियन्ता माजिद अन्सारीसहित तीन जनालाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार होल्डिङ सेन्टरमा होहल्ला गरेको आरोपमा अन्सारीसँगै नहेन्द्र खड्का र सरिश्मा थापालाई पक्राउ गरिएको हो।
बागमती नदीमा आएको बाढीका कारण शुक्रबार राति होल्डिङ सेन्टर डुबानमा परेको थियो। डुबानबाट त्यहाँ आश्रय लिइरहेका सुकुम्बासी प्रभावित भएपछि उनीहरूलाई सहयोग गर्न अन्सारीसहितका जेनजी अभियन्ता कीर्तिपुर पुगेका थिए।
घटनास्थलमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिने क्रममा धक्कामुक्का भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। उक्त भिडियोमा अन्सारीको अनुहारबाट रगत बगेको देखिन्छ। यस सम्बन्धमा प्रहरीले कुटपिटबारे औपचारिक प्रतिक्रिया दिएको छैन।
अन्सारीसहित तीनै जनालाई कीर्तिपुरस्थित प्रहरी बिटमा राखिएको जानकारी दिएका छन्। अन्सारीमाथि कुटपिट भएको र त्यसबाट उनको अनुहारमा चोट लागेको दाबी गरेका छन्। यस घटनाबारे प्रहरी र जेनजी अभियन्ताहरूले फरक-फरक दाबी गरेका छन्।


0 comment