काठमाडौ:ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात व्यवस्था कार्यालयबाट पाउने सेवा नपाउने भएको छ । उपत्यका ट्राफिक प्रहरीले ट्राफिक कारबाहीमा परेर पनि लामो समयसम्म जरिबाना नतिर्ने सवारी चालकको विवरण यातायात कार्यालय पठाएको छ ।

यसरी ट्राफिक प्रहरीले पठाएका विवरणका आधारमा कार्यालयले उनीहरूले यातायातबाट पाउने सेवा रोक्का गरिदिएको हो । उपत्यका ट्राफिक प्रहरीले अनलाइन प्रणालीमार्फत कारबाही प्रक्रिया थालेदेखि हालसम्म जरिबाना नतिर्ने दुई लाख ६१ हजार सवारी चालकको विवरण यातायात व्यवस्था कार्यालय पठाएको छ । 

सोही विवरणका आधारमा कार्यालयले उनीहरूले पाउने सेवा रोकेको हो । लामो समय जरिबाना नबुझाएका सवारी चालकको विवरण आवश्यक कारबाहीका लागि यातायात व्यवस्था विभाग पठाएको ट्राफिक कार्यालयका एसपी नरेशराज सुवेदीले जानकारी दिनु भयो ।

ट्राफिक कारबाही परेका सवारी चालकले लामो समयदेखि जरिबाना नबुझाएको पाइएपछि  विवरण यातायात कार्यालय पठाएर उनीहरूको सेवा रोकेको हो ।

योसँगै अब जरिबाना नतिर्ने सवारी चालकले यातायात कार्यालयमार्फत हुने सवारीसाधन खरिदबिक्रीको काम गर्न नपाउने भएको छ । नयाँ सेवाका लागि जरिबाना अनिवार्य तिरेको हुनुपर्ने यातायात व्यवस्था कार्यालयले जनाएको छ।