काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक प्रकाशचन्द्र परियारले आत्मदाह प्रयासपछि मृत्यु भएका गणेश नेपालीको घटनाबारे राज्यले उच्चस्तरीय छानबिन गर्नुपर्ने माग गरेका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै परियारले मृतकका परिवारलाई उचित क्षतिपूर्ति, राहत, परिपूरण तथा भरणपोषणको व्यवस्था गर्न राज्यले उदारता देखाउनुपर्ने बताए। उनले गणेश नेपालीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरे।
उनले भूपी शेरचनको कविता पनि सुनाए, ‘मरेर सहिद हुनेहरू हो, जिएर त हेर । जिउन झन् गाह्रो छ ।’ यो कविताको आशय जस्तै भएको छ देशको वर्तमान अवस्था । वास्तवमै यहाँ जिउनेहरुलाई अचेल मरेर सहिद हुनेलाई भन्दा पनि गाह्रो छ । देशमा रोजगारी छैन । केही काम गरेरे पेट पालौं भनेर कोसिस गर्दा देशका नीति नियमले घाँटी निमोठ्ने अवस्था छ ।
यस्तै अवस्था मुगुका २५ वर्षीय गणेश नेपालीलाई पनि भएको महसुस हुन्छ । उनले बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए। करिब ५५ प्रतिशत शरीर जलेका उनको वीर अस्पतालस्थित बर्न सेन्टरमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो।
भक्तपुरमा श्रीमती र छोरीसँग डेरामा बस्दै आएका नेपाली राइड–सेयरिङ एपमार्फत राइडरका रूपमा कार्यरत थिए। आफूले पार्किङमा राखेको मोटरसाइकलमा काठमाडौं महानगरपालिकाका प्रहरीले ह्विल लक लगाई नियन्त्रणमा लिन खोजेपछि उनले आत्मदाहको प्रयास गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।


0 comment