काठमाडौं - आत्मदाह प्रयासपछि उपचारका क्रममा मृत्यु भएका गणेश नेपालीको परिवारले उनको शव बुझ्न अस्वीकार गरेको छ। सरकारले उनकी श्रीमती र छोरीको हेरचाहको जिम्मेवारी नलिँदासम्म शव नबुझ्ने अडान परिवारले लिएको हो।
गणेशका भतिज मन नेपालीले गणेश नै परिवारको मुख्य आम्दानीको स्रोत रहेको उल्लेख गर्दै सरकारले उनका आश्रित परिवारको जिम्मेवारी लिनुपर्ने माग गरे। "उसैले काम गरेर परिवार पालिरहेको थियो। सरकारले गणेशकी श्रीमती र छोरीको जिम्मेवारी लिनुपर्छ। जिम्मेवारी नलिँदासम्म हामी शव बुझ्दैनौं," उनले भने।
उनले सरकारले माग सम्बोधन नगरे आन्दोलनमा उत्रिने चेतावनी पनि दिए। "सरकारले जिम्मेवारी लिन मानेन भने हामी आन्दोलन गर्छौं। माइतीघर जानुपर्छ कि कहाँ जानुपर्छ, हामी आन्दोलन गर्छौं," उनले बताए।
बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि महानगर प्रहरीले गलत स्थानमा पार्किङ गरेको भन्दै गणेश नेपालीको मोटरसाइकलमा ‘ह्वील लक’ लगाएपछि उनी र नगर प्रहरीबीच विवाद भएको थियो। त्यसलगत्तै उनले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए। घटनाअघि गणेश र नगर प्रहरीबीच भएको भनाभनको भिडियो तथा संवादसमेत सार्वजनिक भएको छ।
प्रारम्भिक रूपमा मोटरसाइकलमा ह्वील लक लगाइएपछि उत्पन्न विवादकै क्रममा उक्त घटना भएको बुझिएको छ। यद्यपि घटनाको विस्तृत कारणबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेको छ।
करिब ५५ प्रतिशत शरीर जलेका गणेशको वीर अस्पतालमा उपचार भइरहेको थियो। उपचारकै क्रममा शुक्रबार बिहान उनको मृत्यु भएको हो।


0 comment