काठमाडौं - विस्थापित सुकुमवासीले आश्रय लिइरहेको भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा सरकारले सोमबार साँझ खाना वितरण बन्द गरेपछि त्यहाँ रहेका परिवार थप समस्यामा परेका छन्। घटनाको व्यापक आलोचना भएपछि सरकारले मंगलबार साँझदेखि पुनः खाना उपलब्ध गराउन थालेको भए पनि प्रभावित परिवारहरूमा भविष्यप्रति अन्योल कायमै छ।
सरकारले गत असार ८ गते सूचना जारी गर्दै विस्थापित सुकुमवासीको खातामा स्वव्यवस्थापनका लागि २५ हजार रुपैयाँ उपलब्ध गराइने र असार १२ भित्र होल्डिङ सेन्टर खाली गर्न आग्रह गरेको थियो। त्यसपछि अर्को सूचना जारी गर्दै असार १९ भित्र केन्द्र खाली गर्न ताकेता गरियो। विभिन्न कारणले केही परिवार अझै पनि होल्डिङ सेन्टरमै बसिरहेका छन्।
मनोहरा क्षेत्रको घर डोजर लगाएर भत्काइएपछि आठ सदस्यीय परिवार बिचल्लीमा परेको कालीमायाले सुनाइन्। “आठ जनाको परिवार छ, २५ हजारले के गर्नु ? त्यति त कोठा भाडामै सकिन्छ। सबै सामान फेरि शून्यदेखि जोड्नुपर्छ। खाट, ओछ्यान केही छैन। छोराको जागिर छैन, हात भाँचिएर बसेको छ,” उनले भनिन्। यस्तो बर्खामा किराफट्यांग्राले पनि बास खोज्ने बेला हाम्रो बिजोग भयो,” उनले भनिन्।
कालीमाया आफैं पनि स्वास्थ्य समस्याबाट गुज्रिरहेकी छन्। घर भत्किनुअघि लडेर घाइते भएकी उनले त्यसयता उपचारसमेत नियमित गर्न नसकेको बताइन्। सिलाइ–बुनाइ गरेर जीविकोपार्जन गर्दै आएकी उनको सिलाइ मेसिनसमेत डोजरले पुरिदिएपछि आम्दानीको स्रोतसमेत बन्द भएको छ।


0 comment