काठमाडौं - नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता पूर्णबहादुर खड्काले पार्टी विभाजन आफ्नो पक्षका कारण नभई सभापतिले चाहे मात्र हुने बताएका छन्।
बुधबार काठमाडौंको चुनदेवीमा संस्थापन इतर समूहको तीनदिने बैठकको समापनका क्रममा बोल्दै खड्काले पार्टीभित्र एकता कायम गर्ने जिम्मेवारी नेतृत्वको भएको उल्लेख गरे। उनले सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माप्रति संकेत गर्दै एकता गराउनुपर्ने नेताहरू नै अहिले टाढा रहेको टिप्पणी गरे।
खड्काले विगतमा पनि तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको चाहनाअनुसार पार्टी विभाजन भएको दाबी गर्दै अहिले आफूहरुका कारण पार्टी विभाजन नहुने स्पष्ट पारे। पार्टी एकताका लागि सभापति गगन थापाले नै अग्रसर हुनुपर्ने उनको भनाइ थियो।
चार महिनाअघि २७ जना युवा नेतासँग करिब तीन घण्टा छलफल भएको स्मरण गर्दै खड्काले आफूलाई कुनै पदको लोभ नभएको र युवा पुस्ताले नेतृत्व सम्हाल्नुपर्ने धारणा राखेको बताए। उनले आफूहरू निर्णयमा साथ दिन तयार रहेको उल्लेख गरे।
सदस्यता अद्यावधिक प्रक्रियाबारे पनि खड्काले प्रश्न उठाए। कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरी फोनमार्फत सदस्यता अद्यावधिक गरिएको दाबी गर्दै उनले चार लाखभन्दा बढी सदस्यको अद्यावधिक त्यसैगरी भएको आरोप लगाए।
राष्ट्रिय भेलाको मिति थप परामर्शपछि तय गरिने जानकारी दिँदै खड्काले निर्णय गरेपछि फेरि मिति सार्नुपर्ने अवस्था आउन नदिन आवश्यक तयारी भइरहेको बताए।पार्टीको अवस्था यहाँसम्म पुग्ने आफूले कहिल्यै नसोचेको उनले उल्लेख गरे ।
खड्काको सम्बोधनसँगै संस्थापन इतर समूहको तीन दिनदेखि जारी बैठक सम्पन्न भएको छ।


0 comment