काठमाडौं - नेपाली कांग्रेस संस्थापन इतर समूहका नेताहरुले पार्टीभित्र एकता हुन नसके वैकल्पिक शक्ति वा सङ्गठन निर्माणको तयारीमा जुट्नुपर्ने धारणा राखेका छन् ।
काठमाडौँको चुनदेवीस्थीत सम्पर्क कार्यालयमा मंगलबार बसेको कांग्रेस १४औँ महाधिवेशनबाट निर्वाचित उपलब्ध सदस्यहरुको बैठकमा धारणा राख्ने नेताहरुले पार्टी एकता हुन नसके बैकल्पिक शक्ति वा सङ्गठन निर्माण गर्न पनि पछि हट्न नहुने धारणा राखेको कांग्रेस नेता मीन विश्वकर्माले जानकारी दिए ।
बैठकमा पार्टी एकताका सम्भावना, चुनौती र रणनीतिबारे छलफल भएको उनले बताए । उनले पार्टीभित्रको एकताका लागि अधिकतम प्रयास गर्ने र सफल नभए नेपालको लोकतान्त्रिक आन्दोलनमा अग्रज नेताहरूले पुर्याएको योगदानलाई समेत लिएर अघि बढ्ने साहस गर्नुपर्ने सुझाव आएको उल्लेख गरे । मंगलबार ५ जना नेताहरुले धारणा राखेको र अलमल नगरि छिटो निर्णय गर्नुपर्नेमा जोड दिएको विश्वकर्माले बताए ।
बैठकले साउन ६ गते बीपी स्मृति दिवसलाई भव्य रूपमा सम्पन्न गर्ने प्रस्तावलाई अनुमोदन गरेको विश्वकर्माले जानकारी दिए । बैठक बुधबार पनि जारी रहने उनले बताए ।


0 comment