काठमाडौं - प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा बेरुजु छलफल उपसमिति गठनका सम्बन्धमा विवाद भएको छ । सिंहदरबारमा मंगलबार बसेको समिति बैठकमा उपसमितिको संयोजक र सदस्यमा रहने विषयमा सत्तापक्ष र प्रतिपक्षी सांसदहरुबीच विवाद भएको हो ।
बैठकमा रास्वपाका सांसदहरुले लेखा समितिको सभापति विपक्षी दलबाट रहेको अवस्थामा उपसमितिको संयोजक सत्तापक्षलाई दिनुपर्ने धारणा राखेका थिए भने प्रतिपक्षी दलका सांसदहरुले आफूहरुले सम्मानजनक भूमिका पाउनुपर्ने धारणा राखेका थिए ।
समिति सदस्य खगेन्द्र सुनारले अल्पमतको मूनि रहेर बहुमतले काम गर्न नसक्ने बताए । उनले समितिको नेतृत्व प्रतिपक्षीले पाएको अवस्थामा उपसमितिको संयोजक सत्तापक्षलाई दिनुपर्ने अडान राखे ।
बैठकमा नेकपा सांसद महेन्द्र बहादुर शाहीले उपसमिति संयोजन छान्न अल्पमत वा बहुमतको प्रावधान भन्दा समावेशी तवरले समझदारी गरेर अघि बढ्नुपर्ने सुझाव दिए ।
राप्रपा सांसद खुस्बु ओलीले उपसमितिमा सम्मानजनक उपस्थिति हुनुपर्ने भन्दै कुनै प्रकारको विभेद स्वीकार्य नहुने धारणा राखिन्। उपसमिति संयोजकको बिषयमा टुङ्गो नलागेपछि समिति सभापति भरत बहादुर खड्काले अर्को सूचना जारी नहुदासम्मका लागि बैठक स्थगित गरे ।


0 comment