काठमाडौं - नेपाली कांग्रेसको संस्थापन इतर समूहले आफ्नो छुट्टै कार्यालय स्थापना गरेको छ। सोमबार आयोजित कार्यक्रममा  पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले साँचो खोलेर कार्यालयको उद्घाटन गरे।

कार्यालय उद्घाटन कार्यक्रममा कांग्रेसका नेता शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौलालगायतको उपस्थिति रहेको थियो। 
उद्घाटनअघि समूहका नेताहरूबीच समसामयिक राजनीतिक विषयमा छलफलसमेत भएको थियो। 

छलफलका क्रममा खड्काले नेताहरूलाई ब्रिफिङ गर्दै संस्थापन इतर समूहमा हाल डा. शेखर कोइरालासहित १११ जना रहेको जानकारी दिए। उनका अनुसार ती १११ जनालाई केन्द्रीय कार्यसमितिमा समायोजन गर्ने प्रस्ताव पार्टी नेतृत्वसमक्ष राखिएको छ।

खड्काले उपसभापति विश्वप्रकाश शर्मासँग सातबुँदे प्रस्तावका विषयमा भएको छलफलबारे पनि जानकारी गराए। उनका अनुसार शर्माले प्रस्तावलाई लिखित रूपमा दिन आग्रह गरेपछि सोहीअनुसार तयार पारिएको दस्तावेज अन्तिम रूपमा स्वीकार गरिएको थियो। त्यसपछि शर्माले महामन्त्री गगन थापासँग छलफल गर्ने र अन्य नेताहरूसँग पनि परामर्श गर्न सुझाव दिएको उनले बताए।

ब्रिफिङका क्रममा खड्काले उपसभापति शर्माले आफू र डा. शेखर कोइरालालाई वरिष्ठ नेताको जिम्मेवारी दिने सहमति भइसकेको जानकारी गराएको बताए। तर आफूले उक्त प्रस्ताव स्वीकार नगरेको उनको भनाइ थियो।

खड्काले अब आगामी दुई–तीन दिन नियमित रूपमा समूहको छलफल जारी रहने जानकारी दिँदै साउन ६ गते बीपी जयन्तीका अवसरमा विशेष कार्यक्रम आयोजना गरिने पनि बताए।