काठमाडौं - सांसदहरुले कर्णालीमा भएको सवारी दुर्घटनापछि उद्दारमा ढिलाई भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा उनीहरुले कर्णाली राजमार्गमा भएको सवारी दुर्घटनापछि समयमा नै उद्दार हुन नसकेको भन्दै उद्धारमा भएको ढिलाइबारे सरकारलाई रुलिङ गर्न माग समेत गरेका छन् । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले कर्णालीका नागरिक विपद्मा पर्दा राज्यको उपस्थिति कमजोर रहेको भन्दै सरकारको चर्को आलोचना गरेका छन्।
बैठकमा बोल्दै शाहीले मन्त्रीहरू हेलिकप्टरमा सयर गर्न व्यस्त रहने तर कर्णालीका नागरिक नदीमा डुब्दा र विपद्को सामना गर्दा सरकार प्रभावकारी रूपमा उपस्थित हुन नसकेको आरोप लगाए।
कर्णाली नदीमा गाडी खसेर यात्रु बेपत्ता भएको घटनामा खोजी तथा उद्धार कार्यमा ढिलाइ भएको उल्लेख गर्दै उनले घटनाको सत्यतथ्य सार्वजनिक गर्न र उद्धारमा भएको ढिलाइबारे सभामुखमार्फत सरकारलाई रुलिङ गर्न माग गरे।
शाहीले कर्णालीका जनतामाथि लामो समयदेखि विभेदपूर्ण व्यवहार हुँदै आएको दाबी गर्दै दुर्गम क्षेत्रका नागरिकप्रति सरकार अझै गम्भीर बन्न नसकेको टिप्पणी गरे। उनले विपद्का बेला सबै नागरिकले समान रूपमा राज्यको सेवा र संरक्षण पाउनुपर्नेमा जोड दिए।
यस्तै बैठकमा कांग्रेस प्रमुख सचेतक बासना थापाले सुर्खेतबाट कालिकोट जाँदै गरेको फोर्स गाडी दुर्घटनापछि समयमा नै उद्दार हुन नसकेको बताइन्।
उनले घटना घटेको लामो समय बितिसक्दा पनि राज्यका तर्फबाट घटनाको यकिन तथ्य र विवरण आउन नसक्नु अत्यन्तै खेदजनक रहेको उनले बताइन् । थापाले कर्णाली राजमार्गको स्तरवृद्धिका लागि सरकारको ध्यानाकर्षण गराइन् ।


0 comment