काठमाडौं - नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण गर्ने अवधि आगामी साउन ३ गतेसम्म थप गरेको छ।

महामन्त्री प्रदीप पौडेल नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले यसअघि तोकिएको समयावधि बढाउने निर्णय गरेको हो। समितिका सदस्य तथा सहमहामन्त्री योगेन्द्र चौधरीका अनुसार नयाँ क्रियाशील सदस्यता वितरण साउन ३ गतेसम्म जारी रहनेछ।

‘नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय साउन ३ गतेसम्म थप गर्ने निर्णय भएको छ,’ उनले बताए।

यसअघि कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरणको समय असार २० गतेसम्म तोकेको थियो। पार्टीले यसपटक अनलाइनमार्फत पनि नयाँ क्रियाशील सदस्यताका लागि आवेदन दिने व्यवस्था गरेको छ।

कांग्रेसले १५औँ महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ।