काठमाडौं - नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारका मन्त्रीहरूले संवेदनशील विषयमा दिने अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
वर्तमान सरकारका सय दिनको समीक्षा गर्न पार्टी संयन्त्रले आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले प्रदेशको नाम, भाषा, अधिकार र समावेशीताजस्ता विषयमा सरकारका मन्त्रीहरूले पर्याप्त संवेदनशीलता नदेखाएको आरोप लगाए। उनले संविधानसँग जोडिएका विषयमा हचुवाको भरमा बोल्दा गम्भीर परिणाम आउन सक्ने चेतावनी दिएका छन्।
‘अहिले पनि प्रदेशको नामको विषयमा समस्या छन्, मुद्दाहरू छन्। तर त्यसको सन्दर्भ नै नबुझी मन्त्रीहरूले हल्का रूपमा अभिव्यक्ति दिइरहनुभएको छ,’ उनले भने, ‘एउटाले एउटा कुरा बोलिदिनुभएको छ, अर्कोले थपिदिएको छ, अर्कोले खारेज गरिदिएको छ। सरकार सञ्चालन गर्ने दलभित्रै फरक–फरक धारणा सार्वजनिक भइरहेका छन्।’
थापाले संविधान निर्माणका क्रममा अपनाइएको संवेदनशीलता र सहमतिलाई सरकारले बेवास्ता गरेको जिकिर गरे।
संविधान संशोधन आवश्यक रहेको स्वीकार गर्दै उनले त्यसलाई गम्भीर अध्ययन, व्यापक सहमति र जिम्मेवार ढंगबाट अघि बढाउनुपर्ने धारणा राखे।
अधिकार, भाषा र समावेशीताका विषय कुनै पनि बेला राष्ट्रिय बहसको केन्द्र बन्न सक्ने उल्लेख गर्दै थापाले यस्ता मुद्दामा विशेष सावधानी अपनाउनुपर्ने बताए। थापाले नेपालको विविधतालाई सम्बोधन गर्ने विषयलाई सरकारले प्राथमिकताका साथ हेर्नुपर्नेमा जोड दिँदै यस्ता विषयमा गैरजिम्मेवार अभिव्यक्ति दिन नहुने बताए।


0 comment