काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सरकारको सय दिन, सुशासनको सुरुवात गर्ने विषयमा सफल भएको जनाएको छ । 

शुक्रबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सांसदको डिजिटल अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीसंग कुरा गर्दै रास्वपा सभापति रवि लामिछानेले सरकारले सुरुदेखि नै सुशासनलाई प्राथमिकतामा राखेको र सय दिन सुशासनको सुरुवात गर्ने विषयमा सफल भएको बताए । 

 सरकारले यस अवधिमा नागरिकका सवाल र सुशासनमा बढी जोड दिएको उनको दाबी छ । उनले भौतिक पूर्वाधारको क्षेत्रमा ३ वर्षको प्याकेज बनाएर काम सुरु गरिएको र सेवा प्रवाहलाई डिजिटल तथा सहज बनाउने क्रमको सुरुवात भएको उल्लेख गरे । 

सभापति लामिछानेले असल नियतले काम गर्दागर्दै पनि कहिलेकाहीँ प्रक्रियागत कमजोरी हुन सक्ने भन्दै आगामी दिनमा प्राप्त सुझावका आधारमा कमी–कमजोरी सुधार्दै अघि बढ्ने धारणा राखे ।

उनले संविधानका धेरै विषयमा बहस आवश्यक रहेको उल्लेख गर्दै रास्वपाले प्रदेश खारेजीको माग नगरेको धारणा राखे । प्रदेश संरचनालाई अझ प्रभावकारी र कम बोझिलो बनाउनका लागि रास्वपाले बहसको विषयका रूपमा मात्र अगाडि सारिएको र यसमा सर्वदलीय सहमति आवश्यक पर्ने उनले बताए । सभापति लामिछानेले काठमाडौँको खोला किनारका नागरिकलाई व्यवस्थित गर्न खोजिएको उल्लेख गर्दै वास्तविक सुकुम्बासीहरूले जग्गा वा आवास प्राप्त गरेपछि अहिलेको पीडा बिर्सने वातावरण उल्लेख गरे ।

साथै उनले रास्वपा सांसदहरुलाई प्रविधिसँग नजिक राख्न आगामी दिनमा साइबर सुरक्षा, डिजिटल सेक्युरिटी जस्ता विषयमा थप कार्यक्रमहरू हुने जानकारी दिए । बैठकमा सांसदहरुलाई ‘पल्स आरएसपी’ डिजिटल प्लेटफर्मको प्रणालीबारे जानकारी गराइएको थियो ।