काठमाडौं - सभामुख डोलप्रसाद अर्यालले नेपाललाई समृद्ध राष्ट्र बनाएर बाहिर रहेका लाखौ नागरिकलाई स्वदेशमा फर्किने वातावरण बनाउनुपर्ने बताएका छन् ।

संसद् दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा सभामुख अर्यालले आगामी दिनमा भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गरी समृद्ध राष्ट्र बनाएर देश बाहिर रहेका लाखौ नागरिकलाई स्वदेशमा फर्किने वातावरण बनाउनुपर्ने बताएका हुन् ।

उनले अघिल्लो पुस्ताको अनुभव र पछिल्लो पुस्ताको ज्ञानलाई सँगसँगै लिएर देशलाई समृद्ध बनाउनुपर्ने धारणा राखे। सभामुख अर्यालले फास्ट ट्रयाकमा देश बनाउने र जनताको जनजीविकाको विषयमा काम गनुपर्छ भन्ने युवाहरुको हुटुहुटीलाई सँगै लिएर जानको लागि कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको गति एकै हुनुपर्नेमा जोड दिए ।

संविधानलाई अक्षरशः पालना गरेर कानुनी राज्यलाई अप्ठेरो नपर्ने गरि अघि बढ्नुपर्ने उनको भनाइ छ । नेपालमा २०१६ साल असार १६ गते संसदको पहिलो बैठक बसेको सम्झनामा संसद दिवस मनाउने गरिन्छ ।