काठमाडौं - नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीयताका सन्दर्भमा अघि सारेको पछिल्लो प्रस्तालाई अवसरवादी र असान्दर्भिक रहेको बताएका छन् ।

आइतबार संघीय संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वमन्त्रीसमेत रहेका पुनले रास्वपाको पछिल्लो राजनीतिक चरित्रले जनमतको अपमान गरेको टिप्पणी गरे । रास्वपाले निर्वाचनका बेला र विभिन्न प्रदेशहरूमा पुगेर संघीयता सुदृढ गर्ने आश्वासन दिएको स्मरण गराउँदै नेता पुनले अहिले महाधिवेशनमार्फत प्रदेश संरचना खारेजीको प्रस्ताव ल्याउनु जनमतमाथिको धोका भएको उल्लेख गरे । 

उनले रास्वपाभित्रै वैचारिक अस्पष्टता रहेको दाबी गर्दै सभापतिको प्रस्तावमा संविधान र संघीयताप्रति प्रतिबद्धता देखिनु तर उपसभापतिको प्रस्तावमा प्रदेश सभा खारेजीको कुरा आउनुले पार्टीभित्रै दुईवटा धार वा वैचारिक अपरिपक्वता रहेको पुष्टि हुने तर्क गरे ।

उनले पुनले संघीयता र लोकतन्त्र हजारौँको बलिदानबाट स्थापित भएको उल्लेख गर्दै यस प्रकारको आगोसँग खेल्ने काम नगर्न रास्वपालाई चेतावनी दिए । सांसद पुनले रास्वपाले नयाँ राजनीतिक संस्कारको सुरुवात गर्न खोजे पनि कतिपय अभिव्यक्ति र व्यवहारले उनीहरूको अपरिपक्वता र लोकप्रियतावाद मात्र झल्काएको आरोप लगाए ।