काठमाडौं - नेकपाका सहसंयोजक माधवकुमार नेपालले तत्काल कम्युनिस्ट एकता हुने सम्भावना आफूले नदेखेको बताएका छन्। उनले भावनात्मक चर्चा र नारामा मात्र सीमित भएर एकता नहुने स्पष्ट पारे।

मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले आइतबार राष्ट्रियसभा गृहमा आयोजना गरेको गोष्ठीमा बोल्दै नेपालले कम्युनिस्ट आन्दोलनभित्र आत्मसमीक्षा र गम्भीर मन्थन आवश्यक रहेको बताए।

‘मै हुँ भन्ने प्रवृत्ति, भ्रष्टाचारीकरणको प्रवृत्ति र जनताबाट टाढिने प्रवृत्तिले हामीले समाज र जनतालाई बुझ्न सकेनौँ। बदलिँदो मनोविज्ञानलाई बुझ्न सकेनौँ,’ उनले भने। ‘हामीभित्र देखिएका विकृतिहरूको आत्मसमीक्षा गर्नुपर्छ। यो काम एउटा पार्टीले मात्र होइन, सबै कम्युनिस्ट घटकहरूले गर्नुपर्छ।’

उनका अनुसार गहिरो आत्ममन्थनपछि मात्र सही निष्कर्ष निकालेर कम्युनिस्ट शक्तिहरूलाई एकताबद्ध दिशामा अघि बढाउन सकिन्छ। तर अहिलेको अवस्थामा तत्काल एकता सम्भव देखिँदैन।

नेपालले यथार्थ धरातलमा टेकेर व्यापक छलफल, बहस र समझदारीमार्फत मात्र मिल्न सकिने विषयहरूमा सहकार्य गर्दै अघि बढ्नुपर्ने धारणा समेत व्यक्त गरे।