काठमाडौं - श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्रीले सीमासम्बन्धी विषयमा सार्वजनिक कार्यक्रमबाट नभई संघीय संसदमार्फत स्पष्ट धारणा राख्नुपर्ने बताएका छन्।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति राष्ट्रहितमा रहेको भए संसदको रेकर्डबाट हटाउन नहुने, तर राष्ट्रहितविपरीत भएको ठहरिए तत्काल रेकर्डबाट हटाउनुपर्ने धारणा व्यक्त गरे।

उनले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहितमा थियो वा राष्ट्रको अहितमा थियो भन्ने विषयमा स्वयं प्रधानमन्त्री नै संसदमा उपस्थित भएर स्पष्ट पार्नुपर्ने बताए। "पार्टीभन्दा देश ठूलो हो," भन्दै उनले सीमाजस्तो संवेदनशील विषयमा चितवनमा आयोजित पार्टी कार्यक्रममा होइन, संसदको रोस्ट्रमबाटै धारणा सार्वजनिक गर्नुपर्ने उल्लेख गरे।

सांसद राईले सीमाको विषयमा प्रतिपक्षी दलले निरन्तर चासो र विरोध जनाउँदै आए पनि सरकार तथा सत्तारुढ दलले त्यसलाई बेवास्ता गरेको आरोप लगाए। उनले राष्ट्रिय महत्वका विषयमा सरकारले संसदलाई विश्वासमा लिएर स्पष्ट जवाफ दिनुपर्ने आवश्यकता पनि औँल्याए।