काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले रुपन्देहीको कोटहीमाई गाउँपालिका कार्यालयमा छापा मारेर कागजपत्र नियन्त्रणमा लिएको खुलेको छ । नदीजन्य पदार्थको ठेक्कामा अनियमितता भएको उजुरीका आधारमा अख्तियारले मंगलबार छापा मारेर ठेक्कासँग सम्बन्धित कागजपत्र नियन्त्रणमा लिएको हो । कोटहीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सतेन्द्र यादवले घटनाको पुष्टि गर्दै अख्तियारले ठेक्कासँग सम्बन्धित कागजपत्रको प्रतिलिपी लिएर गएको बताए । 

उनका अनुसार, पालिकाको वडा नम्बर–५ स्थित बेनीघाटमा नमुना कन्सट्रक्सनले १६ लाख रुपैयाँमा १ लाख ७७ हजार ७ सय ७२ घनफिट उत्खनन्का लागि ठेक्का पाएको थियो । कन्सट्रक्सनले घाटगद्दी (उत्खनन् पश्चात सामग्री जम्मा गर्ने स्थल) गर्ने अनुमति पाएको स्थानभन्दा फरक स्थानमा घाटगद्दी गरेको पाइएको उनको भनाइ छ ।

अख्तियारको टोलीले अनुमति पाएको भन्दा फरक स्थानमा उत्खनन् र घाटगद्दी गरेको पाएपछि कागजपत्र नियन्त्रण लिएर छानबिन/अनुसन्धान अघि बढाएको बुझिएको छ । बुधवार बसेको गाउँपालिका कार्यपालिकाको बैठकले फरक स्थानमा घाटगद्दी गरिएको नदीजन्य पदार्थ जफत गर्ने र ठेकेदारलाई कारवाही गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत यादवले बताए । साथै, उत्खनन्मा प्रयोग भएको दुई वटा मेसिनसमेत नियन्त्रणमा लिइएको पालिकाले जनाएको छ ।

अनुमति पाएको भन्दा फरक स्थानबाट उत्खनन् र घाटगद्दी गरेको उजुरीको विषयमा अख्तियारले कागजपत्र नियन्त्रणमा लिएको अर्को दिननै बैठक बसेर कारवाहीको निर्णय गरेको पालिकाले त्यो भन्दा अघि अनुगमन गरेर कुनै कारवाही नगर्नुमा मिलोमतोको आशंकामा बल पुगेको सरोकारवालाहरुको भनाई छ । पालिकाले जेठ २१ गते एक सूचना प्रकाशित गर्दै असार १ गतेदेखि ०८३ भदौ मसान्तसम्म नदीजन्य पदार्थको उत्खनन् तथा संकलन कार्य पूर्णरुपमा बन्द गरिएको जनाएको थियो ।