काठमाडौं - नेपाली काङ्ग्रेसकी सांसद सीता थपलियाले देशभरका क्यान्सर अस्पतालहरूमा अत्यावश्यक औषधिको चरम अभाव देखिएको भन्दै संसदमा सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छिन् ।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद थपलियाले क्यान्सरका बिरामीले प्रयोग गर्ने 'सिस्प्लाटिन' र 'कार्बोप्लाटिन' जस्ता जीवनरक्षक औषधि बजारमा नपाइएको भन्दै यस विषयमा सरकार गम्भीर हुनुपर्ने बताइन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीले केही समयअघि औषधि व्यवस्था विभागको निरीक्षण गरी निर्देशन दिए पनि तल्लो तहमा बिरामीहरूले अझै औषधि पाउन नसकेको उनको गुनासो छ । हिजो मात्रै भक्तपुर क्यान्सर अस्पतालमा किमोथेरापीका लागि पुगेका बिरामीहरू औषधि नपाएर छटपटाउनु परेको र औषधि खोजिदिन सांसदहरूसँगै गुहार मागेको उनले जानकारी दिइन् ।

सभामुखमार्फत स्वास्थ्य मन्त्रीलाई सम्बोधन गर्दै उनले हाल 'सिस्प्लाटिन' नेपालका कुन–कुन अस्पताल वा औषधि केन्द्रमा उपलब्ध छ, त्यसको विवरण बिरामी र उनीहरूका परिवारको जानकारीका लागि सरकारले तत्काल सार्वजनिक गर्नुपर्ने माग गरिन् ।

बिरामीहरूले अत्यावश्यक औषधि सहज रूपमा पाउने सुनिश्चितताबारे मन्त्रीले सम्मानित सदनलाई स्पष्ट जानकारी गराउनुपर्ने उनको भनाइ छ । 'बिरामीको जीवनसँग खेलबाड गर्ने काम नहोस्,' ध्यानाकर्षण गराउँदै उनले भनिन्, 'मन्त्रीज्यूले निर्देशन दिने मात्र होइन, बिरामीले भुइँतहमा औषधि पाए कि पाएनन् भनेर सम्बन्धित निकायहरूमा आफैँले बुझ्न समेत अनुरोध गर्दछु ।'