काठमाडौं - श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले सरकारलाई प्रचारमुखीभन्दा जनमुखी काम गर्न सुझाव दिएका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले विशेषगरी गृहमन्त्रीलाई जनताका समस्याप्रति थप संवेदनशील र सक्रिय हुन आग्रह गरे।
उनले माइतीघर क्षेत्रमा विभिन्न माग राख्दै लामो समयदेखि धर्ना र आन्दोलनमा बसेका नागरिकहरूको विषयमा सरकारको ध्यानाकर्षण गराए। वर्षौँदेखि तथा महिनौँसम्म विभिन्न समूहले माइतीघरमा आन्दोलन गरिरहेकाले उनीहरूको माग र समस्याबारे सम्बन्धित निकायले गम्भीरतापूर्वक अध्ययन गर्नुपर्ने उनको भनाइ थियो।
साम्पाङले गृहमन्त्रीको कार्यशैलीको प्रशंसा गर्दै आवश्यक विषयमा छिटो निर्णय र पहल गर्ने क्षमता रहेको बताए। उनले गृहमन्त्रीलाई सम्बोधन गर्दै भने, “हाम्रो गृहमन्त्रीज्यू अत्यन्तै ‘क्विक एक्सन’ लिनुहुन्छ। उहाँ आफैँ पनि सम्बन्धित क्षेत्रमा पुगेर अनुगमन गर्नुहुन्छ।”
“त्यहाँ दशौँ थरीका मानिसहरू वर्षौँ वर्ष र महिनौँसम्म बसिरहेका छन्। नेपाल सरकारले उनीहरूको माग के हो भन्ने कुरा बुझेर न्याय दिनुपर्छ,” उनले भने।
साम्पाङले आन्दोलनरत पक्षका मागहरूको निष्पक्ष मूल्यांकन गर्दै उचित सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन्।


0 comment