काठमाडौं - श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपाली नागरिकमाथि हप्कीदप्की गरेको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष राईले सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोप्रति सरकार गम्भीर बन्नुपर्ने बताए। उनले घटनाबारे रक्षामन्त्रीले संसदमा आएर स्पष्ट जवाफ दिनुपर्ने माग गरे।

राईले सीमा क्षेत्रमा नेपाली नागरिक आफैँ आफ्नो भूमिको संरक्षणका लागि संघर्षरत देखिँदा पनि राज्य संयन्त्र निष्क्रिय बनेको आरोप लगाए। उनले नेपाली सेना सीमा क्षेत्रमा अवलोकनका लागि समेत जान नसक्ने अवस्था किन सिर्जना भएको हो भन्ने प्रश्न उठाउँदै त्यसको कारण सार्वजनिक गर्न सरकारसँग माग गरे।

“हाम्रो नेपाली सेना सीमामा जानै नहुने त्यस्तो के कसम खाएर बसेको रहेछ ? सीमामा हेर्न, अवलोकन गर्नसमेत नपाउने गरी कुनै सन्धि वा सम्झौता भएको हो भने त्यसबारे संसदलाई जानकारी गराइनुपर्छ,” उनले भने।

उनले यदि नेपाली सेनालाई सीमा क्षेत्रमा परिचालन गर्न वा अवलोकन गर्न नपाउने कुनै करार वा सन्धि भएको भए त्यसको विवरण संसदसमक्ष प्रस्तुत गर्न सरकारलाई आग्रह गरे। सार्वभौम संसद र सांसदहरूलाई त्यस्तो विषयबारे जानकारी पाउने अधिकार रहेको उनको भनाइ थियो।

राईले संविधानले सुनिश्चित गरेको सूचनाको हकअनुसार सरकारले सीमा सुरक्षासम्बन्धी यथार्थ अवस्था संसदलाई जानकारी गराउनुपर्ने बताए। उनले सुरक्षा व्यवस्थाविनाको खुला सीमाले अतिक्रमणको जोखिम बढाउने भएकाले सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने धारणा राखे।