काठमाडौं - सत्तारुढ सांसद अमरेशकुमार सिंहले आफ्नै सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बजेटको सैदान्तिक पक्षमा बोल्दै सांसद सिंहले अहिलेको सरकारले ल्याएको बजेटबाट नेपालका कति प्रतिशत जनता खुशी भएका छन् ? भन्दै प्रश्न गरेका छन् । उनले बैंकर खुशी भएको भए किन बैंकमा निक्षेप किन जम्मा भएको छ ? किन कोही ऋण लिन तयार भइरहेका छैनन् ? भन्दै सरकारलाई प्रश्न गरेका छन् ।

सांसद सिंहले नेपालमा अहिले व्यापार व्यवसाय गर्ने वातावरण नभएको समेत बताएका छन् । उनले अहिले डरको माहोल रहेको बताउँदै भने, ‘डरले शासन चल्ला तर डरले परिवर्तन आउँदैन ।’ शिक्षा, स्वास्थ्य र संविधानको कुरा गरिनु पर्ने बताउँदै सांसद सिंहले संविधानमा शिक्षा, स्वास्थ्य मौलिक अधिकार भएको बताए । सांसद सिंहले मौलिक अधिकारमा कर लगाउने त्यसमा पनि निजी शिक्षा र अस्पतालमा कर नलागेको बताउँदै सर्वसाधरण नागरिकका छोराछोरी पढ्ने विद्यालयमा लगाइएको बताए ।

बुढानिलकण्ड स्कुल पढेका अर्थमन्त्रीको ठूलो नेटवर्क रहेको दावी गर्दै सांसद सिंहले आफूले सात प्रदेशमै अर्को बुढानिलकण्ठ जस्तै स्कुल बन्ने विश्वास लिएको तर, त्यस्तो नभएको गुनासो गरे । आफ्नो क्षेत्र किसान र गरिबको मात्र भएको र त्यहाँ कुनै बजार नभएको बताउँदै सांसद सिंहले आफ्नो क्षेत्रका किसानले ५ रुपैंयाँमा तरकारी बेच्ने तर, काठमाडौंका उपभोक्ताले ५० रुपैंयाँमा किनेर खाने गरेको बताए । उनीहरुले २०–३० रुपैयाँमा बेच्न पाउने वातावरण बनाउने कि नबनाउने ?’

जेनजी आन्दोलन युवाको आन्दोलन भएको र यसको माग युवालाई रोजगारी समेत रहेको सांसद सिंहले बताए । उनले अहिलेको बजेटबाट कर्मचारीले त केहि पाए, गरिब जनताले के पाए भन्दै सरकारलाई प्रश्न गरेका छन् । उनले आफ्नो ध्यान मुसहर र चेपाङ बस्तीमा रहेको बताए । साउथ एशियाका जीडीपीको ३२–३३ प्रतिशतको बजेट बनाउने कुनै देश नभएको बताउँदै सांसद सिंहले भने, ‘फुकेको बेलुन लामो समयसम्म टिक्दैन । बजेट कार्यान्वयन हुन्छ भन्ने मलाई विश्वास छैन, अरु साथीहरुलाई के छ ?’